महेन्द्रनगर, जेठ ११ — अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पालिकाहरूले केही दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाले आइतबार सूचना जारी गर्दै जेठ १२ र १३ गते नगरक्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दुई दिन पठनपाठन स्थगित गरिएको उल्लेख गरेको छ ।
त्यसैगरी, कृष्णपुर नगरपालिकाले नगरक्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरेको छ । नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीलाई समस्या हुन सक्ने भएकाले आजदेखि लागू हुने गरी बिदा दिइएको हो ।
भीमदत्त नगरपालिकाले पनि सूचना जारी गर्दै नगरक्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको जनाएको छ । पालिकाहरूले अहिले दिइएको बिदा गर्मी बिदा तथा लामो बिदाबाट कट्टी हुने गरी व्यवस्थापन गरिएको जानकारी दिएका छन् ।

नौ स्थानीय तह रहेको कञ्चनपुर जिल्लामा हाल ३४९ संस्थागत तथा २६० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसोको समयमा सडक, बजार तथा सार्वजनिक स्थलमा मानिसको चहलपहलसमेत घटेको देखिएको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विभागका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने सम्भावना रहेको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुग्न सक्ने चेतावनीसमेत विभागले दिएको छ ।
विभागले अत्यधिक गर्मीका समयमा दिउँसो घरबाहिर कम निस्किन, प्रशस्त पानी पिउन, बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।















