धनगढी साउन १० गते। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका मागसहित २४ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ । अनशनका क्रममा रगतमा सुगरको मात्रा अत्यधिक घटेपछि चिकित्सकको सिफारिसमा शनिबार उनलाई आइसियुमा सारिएको हो ।
धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि आमरण अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा निरन्तर गिरावट आएपछि चिकित्सकको टोलीले तत्काल अस्पताल भर्ना गर्न सुझाव दिएको थियो । सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवाल नेतृत्वको टोलीले बिहान स्वास्थ्य परीक्षण गर्दा अवस्था थप जटिल हुन सक्ने निष्कर्ष निकालेपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको हो । डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार प्रारम्भिक परीक्षणमा उनको रगतमा सुगरको मात्रा ५० रहेको थियो । आइसियुमा भर्ना गरेपछि पुनः गरिएको परीक्षणमा सुगरको मात्रा थप घटेर ४९ पुगेको पाइएको उनले जानकारी दिए । उनका अनुसार डा. केसीको हातखुट्टाका नसा बाउँडिने, कमजोरी बढ्ने तथा बोल्नसमेत कठिन हुने लक्षण देखिएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेसँगै सरकारले पनि उनको सत्याग्रहप्रति चासो देखाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. केसीले उठाएका मागप्रति सरकार सकारात्मक रहेको जनाउँदै वार्तामार्फत समाधान खोज्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार साँझ डा. केसी विश्राममा रहेका कारण मन्त्री पोखरेलले उनका सहयोगी डा. अमृत जैसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसपछि राति करिब ११ बजे मन्त्रीले डा. केसीसँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्दै वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू धनगढी नै आउने प्रतिबद्धता व्यक्त गरेको डा. जैसीले बताए ।
यसपटकको सत्याग्रहमा डा. केसीले पाँच बुँदे माग अघि सारेका छन् । तीमध्ये शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने, चालु शैक्षिक सत्रदेखि नै एमबिबिएससहितका चिकित्सा शिक्षाका कार्यक्रम सुरु गर्नुपर्ने तथा स्वार्थ बाझिने गरी गरिएका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने विषयलाई उनले मुख्य ‘बटमलाइन’ का रूपमा प्रस्तुत गरेका छन् । त्यसैगरी, चिकित्सा शिक्षा आयोग र शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयमा कानुनविपरीत गरिएका नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती तथा पूर्वाधारबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउनुपर्ने र विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उनले राखेका छन् ।

उनले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि भारतमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने तथा २०८२ भदौ २३ र २४ मा भएका हत्या, आगजनी, लुटपाट र विनाशका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन् । साथै २०४६ सालयता उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीमाथि लागेका भ्रष्टाचार तथा अपराधका आरोपको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनको अर्को माग छ । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका विषयमा पटक–पटक सत्याग्रह गर्दै आएका डा. केसीले यसअघि पनि विभिन्न सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै २४ औं सत्याग्रह सुरु गरेका हुन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएसँगै सत्याग्रहप्रति राष्ट्रिय चासो समेत बढेको छ ।














