२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

खजुरामा २९१ जनाको आँखा परीक्षण ४० जनालाई मोतिबिन्दु शल्यक्रियाका लागि सिफारिस

खजुरा, साउन २६  खजुरा गाउँपालिका–४ डि गाउँमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ४० जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि सिफारिस भएका छन् । सामाजिक कार्यमा सक्रिय आदर्श युवा सञ्जाल खजुरा र नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजनामा आइतबार सञ्चालन गरिएको शिविरमा २९१ जनाले आँखाको परीक्षण गराएका थिए । शिविरमा परीक्षण गरिएका बिरामीमध्ये मोतिबिन्दु देखिएका ४० जनालाई शल्यक्रियाका लागि अस्पतालमा सिफारिस गरिएको हो ।

खजुरा–४ डि गाउँस्थित मिनी रंगशालामा रहेको न्यू डाँफे स्पोर्टस् क्लबको भवनमा बिहानदेखि अपराह्नसम्म सञ्चालन भएको शिविरमा रुइत फाउण्डेसन काठमाडौंको सहकार्य तथा खजुरा गाउँपालिकाको समन्वय रहेको थियो । आदर्श युवा सञ्जाल खजुराका अध्यक्ष खगेन्द्र दाहालका अनुसार शिविरमा परीक्षण गरिएका मोतिबिन्दुका ४० जना बिरामीको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ । रुइत फाउण्डेसनको सहकार्यमा उनीहरूको शल्यक्रिया गरिने उनले बताए ।

सिफारिस भएका बिरामीलाई एक साताभित्र फत्तेबाल आँखा अस्पतालमा सम्पर्क गरी शल्यक्रियाको प्रक्रिया अघि बढाउन अनुरोध गरिएको सञ्जालका सचिव गमबहादुर डाँगरले जानकारी दिए । शिविरमा बिरामीको उल्लेखनीय सहभागिता रहेको फत्तेबाल आँखा अस्पताल फुल्टेक्राका नेत्र अधिकृत उमर सादिकले बताए । उनका अनुसार शिविरमा आएका बिरामीको आँखाको परीक्षणसँगै आवश्यक उपचार र परामर्शसमेत प्रदान गरिएको थियो ।

आँखा उपचारका लागि अस्पतालसम्म पुग्न कठिन हुने तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले बताइन् । गाउँमै सञ्चालन गरिएको शिविरबाट स्थानीय नागरिकले सहज रूपमा आँखाको परीक्षण तथा उपचार सेवा पाएको उनको भनाइ छ । मोतिबिन्दुका कारण दृष्टि कमजोर भएका कतिपय नागरिक आर्थिक अभाव तथा उपचारका लागि अस्पतालसम्म पुग्न नसक्दा लामो समयदेखि समस्यामा रहने गरेका छन् । यस्ता नागरिकलाई लक्षित गरी सञ्चालन हुने निःशुल्क आँखा शिविरले उपचारको पहुँच विस्तार गर्न सहयोग पुग्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

अन्धोपन निवारणका लागि रुइत फाउण्डेसनले देशका विभिन्न आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । खजुरामा आयोजित शिविरमा पनि फाउण्डेसनको सहकार्य रहेको नेत्र अधिकृत सादिकले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।