रसुवा, भदौ १० गते । भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवाको टिमुरे बजारसहितको बस्ती बगाउँदा त्यहाँ सञ्चालित आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ।
बाढीले टिमुरेमा रहेका माछापुच्छ्रे, सानिमा, नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई र इन्भेस्टमेन्ट मेगा बैंकका शाखा कार्यालयमा क्षति पुगेको बैंकर्स संघले जनाएको छ। बाढीले बस्ती नै बगाएपछि ती शाखाका कार्यालय तथा संरचनाको अवस्था गम्भीर रहेको बताइएको छ।
बाढीपछि टिमुरे क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध भएकाले बैंकका कुनै पनि कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। कर्मचारीको अवस्था र बैंकका कार्यालयमा भएको क्षतिको यकिन विवरणसमेत संकलन गर्न नसकिएको बैंकर्स संघले जनाएको छ।

घटनापछि बैंकिङ क्षेत्रको अवस्थाबारे छलफल गर्न बुधबार बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेको थियो। बैठकले टिमुरेमा रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको उद्धार तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय गरेको संघका अध्यक्ष सन्तोष कोइरालाले बताए।
‘उद्धारका लागि नेपाली सेना, प्रहरीलगायत विभिन्न निकायमा अनुरोध गरिसकेका छौं,’ उनले भने, ‘अहिले कुनै पनि कर्मचारी सम्पर्कमा छैनन्। टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण संकलन गर्न कठिन भएको छ।’
भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएपछि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयसमेत प्रभावित भएका हुन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै कर्मचारीको अवस्था र बैंकका भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण प्राप्त हुने संघले जनाएको छ।














