रसुवा, भदौ–१० गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्रामा रहेका ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक छन्।
बुधबार बिहान आएको बाढीपछि उनीहरूको अवस्थाबारे जानकारी लिन पर्यटन प्रहरी, स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालन गरिएको बोर्डले जनाएको छ। विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत पर्यटकीय गन्तव्यतर्फ गएका उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो।
बोर्डका अनुसार सम्राट टुर्स एण्ड ट्राभलमार्फत ७१, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७, लिफ होलिडेमार्फत ५५, कैलाश जर्नीमार्फत ३१, एक्सप्लोर भ्याकेशनमार्फत सात र ट्रेकर सोसाइटीमार्फत ९२ जना भ्रमणमा गएका थिए।

त्यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७, हिमालयन ग्यासियरमार्फत ५२ र अल्पाइन इको ट्रेकमार्फत २० जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा क्षति पुगेको छ भने रसुवागढी नाका जोड्ने सडक र पुलसमेत क्षतिग्रस्त भएका छन्।
पर्यटकसम्बन्धी जानकारी वा सहयोग आवश्यक परेमा पर्यटन बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।













