पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–स्थित साना हुँगी माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा समुदायले भोटेकोशी बाढीपीडितका लागि १ लाख ४१ हजार रुपैयाँ सहयोग जुटाएका छन्। बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले विद्यालयमा सक्रिय बाल क्लब, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलको पहलमा रकम संकलन गरिएको हो।
विद्यालयका प्रधानाध्यापक एवतबहादुर सारुका अनुसार विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागितामा राहत संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानमा विद्यार्थीले न्यूनतम ५ रुपैयाँदेखि अभिभावक तथा विदेशमा रहेका आफन्तले ५ हजार रुपैयाँसम्म सहयोग गरेका थिए।
राहत संकलनका लागि विद्यालयले ११ वटा समूह बनाएर विद्यार्थीलाई गाउँ–गाउँमा परिचालन गरेको थियो। विद्यार्थीहरू फोक्सिङकोट क्षेत्रका रानीबास, कोटथर, भन्ज्याङथोक, झर्लेङ, ढुङ्गे, गाबुडाँडा, नम्टाहा, बोरोङ्से, लाँबे, खर्केहान, बेलौजा र फोक्सिङडाँडालगायत गाउँमा पुगेका थिए।
प्रधानाध्यापक सारुका अनुसार विद्यार्थीहरू २ सय ९१ घरमा पुगेर बाढीपीडितका लागि सहयोग संकलन गरेका हुन्। राहत संकलन अभियानमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी जुनियर रेडक्रस सर्कल तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी युवा रेडक्रस सर्कलसँगै बाल क्लबका सदस्य सक्रिय थिए।

‘सानो रकम भए पनि विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी आफैं गाउँ–गाउँमा पुगेका हुन्,’ प्रधानाध्यापक सारुले भने, ‘यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना विकास गर्नसमेत सहयोग पुगेको छ।’
संकलित रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा प्रयोग गर्ने उद्देश्यले सम्बन्धित राहत कोषमा उपलब्ध गराउने तयारी गरिएको विद्यालयले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको छ। पाल्पामा पनि विभिन्न विद्यालय, संघसंस्था, स्थानीय तह तथा नागरिकले आ–आफ्नो स्तरबाट सहयोग संकलन गरिरहेका छन्।
साना हुँगी माध्यमिक विद्यालयले जस्तै जिल्लाका अन्य विद्यालयले पनि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। विपद्को समयमा विद्यालयस्तरबाट सञ्चालन भएका यस्ता अभियानले राहत संकलनसँगै विद्यार्थीलाई सामाजिक सेवामा जोड्ने कामसमेत गरेको विद्यालयका शिक्षकहरूको भनाइ छ।
















