धादिङ, भदौ–२४ गते । धादिङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको हो ।
गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल बिहान १०ः१० बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका–५ सागिनेका अन्दाजी ३३ वर्षीय मंगले भन्ने हरि तामाङ र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको हो ।

दुर्घटनापछि दुवै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















