राप्तीसोनारी (बाँके) । नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका कार्यसमितिको आयोजनामा राप्तीसोनारीमा ‘डिजिटल प्रतिनिधित्व सम्बन्धी परामर्श भेला’ सम्पन्न भएको छ । पार्टी संगठनलाई आधुनिक प्रविधिमैत्री बनाउने तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने मुख्य उद्देश्यका साथ उक्त भेला आयोजना गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका सभापति भीमबहादुर राना क्षेत्रीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपाल अधिकारी, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय तथा प्रदेश सभापतिहरू, विभिन्न वडाका सभापतिहरू तथा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् केन्द्रीय सदस्य तिमिल्सिनाले वर्तमान युग सूचना र प्रविधिको युग भएकाले राजनीतिक संगठनहरू पनि समयसापेक्ष रूपान्तरण हुनुपर्ने बताए । उनले पार्टीका नीति, विचार र कार्यक्रमहरूलाई आम नागरिकमाझ छिटो र प्रभावकारी रूपमा पुर्याउन डिजिटल माध्यमको सही सदुपयोग अपरिहार्य रहेको जनाए । सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनालाई चिर्दै पार्टीका आधिकारिक धारणा र निर्देशनलाई तल्लो तहसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न डिजिटल सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै बाँके जिल्ला सभापति गौडेलले संगठन सुदृढीकरणका लागि परम्परागत शैलीसँगै आधुनिक सञ्चार प्रविधिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीका हरेक गतिविधिलाई अभिलेखीकरण गर्न र कार्यकर्ताबीचको समन्वयलाई थप बलियो बनाउन प्रविधिमैत्री अभियानले टेवा पुर्याउने जनाए । जिल्ला कार्यसमितिले पनि यस्ता रचनात्मक र प्रविधिमैत्री कार्यक्रमहरूलाई जिल्लाभर विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

जिल्ला उपसभापति अधिकारीले युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्न डिजिटल प्लेटफर्महरू अत्यन्त प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे । उनले वडा तहका कार्यकर्ताहरूलाई प्रविधिमा दक्ष बनाउँदै पार्टीको प्रचारप्रसार शैलीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति एवम् राप्तीसोनारी गाउँपालिका सभापति राना क्षेत्रीले भेलाले संगठनलाई वडा तहदेखि केन्द्रसम्म एउटै डिजिटल सञ्जालमा जोड्ने ठोस आधार तयार पारेको बताए । उनले गाउँपालिकाका प्रत्येक वडामा ‘डिजिटल प्रतिनिधि’ गठन तथा परिचालन गर्ने कार्ययोजना अघि बढाइएको जनाए । पालिका र वडा स्तरमा व्यवस्थित डिजिटल सञ्चार सञ्जाल निर्माण गरी पार्टीका गतिविधिहरूलाई पारदर्शी र गतिशील बनाइने उनले स्पष्ट पारे ।
भेलामा सहभागी महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश सभापति र वडा सभापतिहरूले आआफ्नो क्षेत्रको सांगठनिक अवस्था र प्रविधि प्रयोगका चुनौतीबारे सुझाव राखेका थिए । उनीहरूले तल्लो तहका कार्यकर्तालाई सामाजिक सञ्जालको सकारात्मक र सिर्जनात्मक प्रयोगबारे अभिमुखीकरण तालिम दिनुपर्ने सुझाव दिएका थिए । पार्टी संगठनलाई समयको माग अनुसार प्रविधिमैत्री, गतिशील र सुदृढ कांग्रेस निर्माण गर्न यो परामर्श भेला कोसेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको छ । भेलाबाट पारित कार्ययोजना अनुसार छिट्टै सबै वडामा डिजिटल प्रतिनिधि छनोट गरी परिचालन गरिने राप्ती सोनारी गाउँ कार्यसमितिले जनाएको छ ।

















