२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि

नेपालगञ्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को शुभारम्भका अवसरमा मंगलबार बिहान नेपालगञ्जमा प्रभातफेरि गरिएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजनामा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरि गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरि बीपी चोक, धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवन चोक, चारबाहिनी चोक र गणेशमान चोक हुँदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरिपछि कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत प्रेमप्रसाद उपाध्यायको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङ, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेत, नेपाल लेखामान बोर्डका सदस्य अब्दुल करिम खाँ, अडानका केन्द्रीय सचिव मो. जुबेर राई, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली, आइक्यान बाँकेका अध्यक्ष प्रभञ्जन रेग्मी, अडानका अध्यक्ष भुवनप्रकाश गैह्रे तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले कर सप्ताहले करप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै कर तिर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनीहरूले करलाई राज्य सञ्चालन र विकास निर्माणको महत्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै प्रत्येक नागरिकलाई करप्रति जिम्मेवार र सचेत बनाउनुपर्नेमा जोड दिए । कर प्रणालीलाई पारदर्शी, न्यायपूर्ण र व्यवस्थित बनाउन राज्य तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो । कार्यक्रममा कर अधिकृत किरण डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्का कर अधिकृत राजेन्द्र बहादुर खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदैछ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम राखेको छ । यसका साथै रक्तदान लगायतका सचेतनामूलक तथा सामाजिक कार्यक्रम समेत आयोजना गरिने कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।