तेहरान, चैत ८ गते मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरान र अमेरिकाबीचको प्रत्यक्ष चेतावनी आदानप्रदानले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानलाई होर्मुज जलडमरूमध्य खुला नगरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएपछि स्थिति थप जटिल मोडमा पुगेको हो। ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इरानलाई ४८ घण्टे अल्टिमेटम दिँदै जलडमरूमध्य अवरुद्ध राखे देशका प्रमुख ऊर्जा पूर्वाधार, विशेषगरी पावर प्लान्टहरूलाई लक्षित गरी ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए। यसको प्रत्युत्तरमा इरानले अमेरिकासँग सम्बन्धित ऊर्जा, सूचना प्रविधि तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) संरचनामाथि क्षेत्रभरि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ।
यसैबीच, इरान ले नतान्जस्थित आणविक केन्द्रमा भएको आक्रमणपछि इजरायल को दक्षिणी सहर अराद र डिमोनामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इजरायली हवाई सुरक्षा प्रणालीलाई छल्दै प्रहार गरिएका मिसाइलहरूले आवासीय क्षेत्रमा क्षति पुर्याएको र १०० भन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। डिमोनास्थित संवेदनशील आणविक क्षेत्रमा नजिकै आक्रमण हुनु थप चिन्ताको विषय बनेको छ, यद्यपि इजरायलले आफ्नो आणविक क्षमताबारे औपचारिक रूपमा पुष्टि गरेको छैन।
प्रतिकारस्वरूप इजरायलले तेहरान केन्द्रित हवाई आक्रमण सुरु गरेको जनाएको छ। करिब तीन सातादेखि जारी द्वन्द्वमा यो आक्रमण सबैभन्दा विनाशकारीमध्ये एक मानिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ भने स्थानीय बासिन्दाले विस्फोटका कारण ठूलो क्षति र त्रासको अनुभव सुनाएका छन्। तनावको मुख्य केन्द्रमा रहेको होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण मार्ग हो। यहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा ठूलो प्रभाव पारिरहेको छ। हाल कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५ अमेरिकी डलर नाघेको छ, जसले विश्वव्यापी आर्थिक अस्थिरताको सङ्केत दिएको विश्लेषण गरिएको छ।
अमेरिकाले नाटो सहयोगी राष्ट्रहरूलाई जलमार्ग सुरक्षामा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स र बहराइनसहित २२ राष्ट्रले इरानद्वारा जलमार्ग अवरुद्ध गरिएको भन्दै विरोध जनाएका छन्। यसबीच अमेरिकी सेन्ट्रल कमान्डले इरानका तटीय भूमिगत संरचनामाथि ‘बङ्कर–बस्टिङ’ बम प्रहार गरिएको दाबी गरेको छ, जसले इरानको समुद्री नियन्त्रण क्षमतामा केही असर परेको बताइएको छ। हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वतर्फ परिचालन भइरहेका छन्, जसले सम्भावित ठूलो द्वन्द्वको सङ्केत दिएको छ।
खाडी क्षेत्रका अन्य देशहरू पनि यस तनावबाट प्रभावित भएका छन्। साउदी अरेबियाले आफ्नो आकाश क्षेत्रमा तीन ब्यालेस्टिक मिसाइल फेला परेको र ड्रोन आक्रमण विफल बनाइएको जनाएको छ भने संयुक्त अरब इमिरेट्सले पनि सुरक्षा सतर्कता बढाएको छ। विश्लेषकहरूका अनुसार इरानको सैन्य संरचना अपेक्षा गरिएकोभन्दा बढी लचिलो र टिकाउ देखिएको छ। शीर्ष नेतृत्वमा क्षति पुगे पनि राज्य संयन्त्र सक्रिय रहनुले द्वन्द्व दीर्घकालीन हुन सक्ने सङ्केत देखिएको छ। यस तनावपूर्ण अवस्थाबीच पनि इरानमा सांस्कृतिक र धार्मिक गतिविधि जारी छन्। रमजान को अन्त्य र नौरोज पर्व मनाइँदै गर्दा सर्वसाधारणले युद्धको त्रासबीच नयाँ वर्ष स्वागत गरेका छन्।



















