२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

उत्सवमार्फत कर्णाली विमर्श सुरु

सुर्खेत, चैत २९  कर्णालीको पहिचानलाई पुनर्परिभाषित गर्दै विकास, समृद्धि र अवसरका नयाँ आयाम खोज्ने उद्देश्यसहित ‘कुडा कर्णालीका’ अभियानअन्तर्गत कर्णाली उत्सव सुरु भएको छ । सात सांगीतिक धुनसँगै उद्घाटन गरिएको उत्सवले कर्णालीलाई केवल विकटताको कथामा सीमित नगरी यसको सम्भावना र क्षमतामाथि केन्द्रित बहस अघि बढाउने लक्ष्य लिएको छ ।

पछिल्ला सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रमको सातौँ संस्करण शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको हो । उत्सवमा कर्णालीको आर्थिक रूपान्तरण, सामाजिक संरचना, साहित्य, कला र संगीतलगायत विविध विषयमा बहस तथा अन्तरक्रिया हुने कार्यक्रम संयोजक कमलराज लम्सालले जानकारी दिए ।

उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले ‘नारी नेतृत्व’ विषयमा आफ्नो धारणा राख्दै महिलाको भूमिका इतिहासदेखि वर्तमानसम्म निर्णायक रहेको बताइन् । उनले राजनीतिक र सामाजिक आन्दोलनहरूमा महिलाको सक्रिय सहभागिताले उनीहरू नेतृत्व गर्न सक्षम रहेको प्रमाणित गरिसकेको उल्लेख गरिन् । संविधानले सुनिश्चित गरेको सहभागितालाई व्यवहारमा अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् ।

कर्णालीको आर्थिक विकासमा बैंकिङ क्षेत्रको योगदानबारे चर्चा गर्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिए । उनले कर्णालीमा अर्गानिक कृषि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, प्रशोधन र बजार व्यवस्थापनलाई सँगै अघि बढाउनुपर्ने बताए । केवल भौतिक पूर्वाधार निर्माणले मात्र समृद्धि सम्भव नहुने भन्दै आम्दानी वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित नीति आवश्यक रहेको उनको धारणा थियो ।

उत्सवको प्रारम्भिक सत्रमा पत्रकार केशव दाहालले कर्णालीप्रति राज्यको ऐतिहासिक उपेक्षा औँल्याउँदै यसको पुनःमूल्यांकन आवश्यक रहेको बताए । उनले कर्णालीलाई सधैं अभाव र विकटताको चश्माबाट मात्रै हेर्ने प्रवृत्तिको आलोचना गर्दै यसको वास्तविक सम्भावनाहरू ओझेलमा परेको उल्लेख गरे । काठमाडौँ र कर्णालीबीचको दूरी केवल भौगोलिक नभई दृष्टिकोणको पनि भएको संकेत गर्दै उनले दुर्गमताको परिभाषामै पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उत्सवअन्तर्गत ‘सुइना कर्णालीका’, ‘जेनेजीः सडकदेखि सदनसम्म’ र ‘शक्तिको सोपानः बाँडफाँटदेखि विकाससम्म’ जस्ता विषयमा बहस तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । यसैक्रममा डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो संघर्षपूर्ण यात्रा प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ । विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला र सहभागीहरूबीच अनुभव आदान–प्रदान तथा नीतिगत बहस हुने यो उत्सव सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।