२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रबाट एकीकृत सेवा सुरु

दाङ, वैशाख २२  लुम्बिनी प्रदेश सरकारले नयाँ प्रशासनिक भवनको औपचारिक शुभारम्भसँगै आफ्ना सबैजसो सेवाहरू एउटै स्थानबाट सञ्चालन गर्ने गरी एकीकृत कार्यप्रणाली सुरु गरेको छ । दाङको राप्ती गाउँपालिका–३ मा निर्माण गरिएको अत्याधुनिक प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री चेतनारायण आचार्यले दैनिक कामकाजको औपचारिक सुरुवात गरेका हुन् ।

नवनिर्मित केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तहलाई सुदृढ बनाउने उद्देश्यले यस्तो संरचना निर्माण गरिएको बताए । नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्यसहित स्थापना गरिएको यो केन्द्र प्रदेशबासीका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले सातै प्रदेशमध्ये लुम्बिनी प्रदेशले राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र स्थापनामा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरे । उनका अनुसार यसले प्रदेश सरकारको कार्यसम्पादन क्षमता वृद्धि गर्दै समग्र विकासलाई थप गति दिनेछ ।

करिब ३ अर्ब ९ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको प्रशासनिक केन्द्र १७ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । ‘मण्डला’ शैलीमा डिजाइन गरिएको यस परिसरमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयका भवनहरू रहेका छन् । मुख्यमन्त्री कार्यालय ६ तलाको रहेको छ भने अन्य मन्त्रालयका भवनहरू पाँच तलाका समान संरचनामा निर्माण गरिएका छन् ।

प्रत्येक भवनमा लिफ्ट, अन्डरग्राउन्ड पार्किङ लगायतका आधुनिक सुविधा उपलब्ध गराइएको छ । यसअघि विभिन्न मन्त्रालयहरू अलग–अलग स्थानमा सञ्चालन हुँदा सेवाग्राहीले भोग्दै आएको असहजता अब अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले २०७९ सालदेखि अस्थायी संरचनाबाट काम सुरु गरेको थियो । छोटो समयमै आफ्नै लगानीमा यस्तो भौतिक पूर्वाधार निर्माण गर्नु प्रदेश सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । प्रमुख सचिव कृष्णप्रसाद काप्री र इन्जिनियर प्रदीप भट्टराईले सबै मन्त्रालय र विभागहरू एउटै परिसरमा समेटिएपछि सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ प्रशासनिक केन्द्र सञ्चालनमा आएसँगै लुम्बिनी प्रदेशले संघीय शासन प्रणाली कार्यान्वयनमा अन्य प्रदेशका लागि उदाहरण प्रस्तुत गरेको दाबी गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।