नेपालगन्ज, वैशाख ३० बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा सरसफाई तथा प्लाष्टिकजन्य फोहोर न्यूनीकरण अभियान सुरु गरिएको छ । वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा कार्यालयले अभियान सञ्चालनमा ल्याएको हो । अभियानको उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पछिल्ला वर्षहरूमा क्यान्सर रोगीको संख्या बढ्दै गएको भन्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए । उहाँका अनुसार पछिल्लो चार वर्षमा वडाबाट ५७ जना क्यान्सर पीडितलाई विभिन्न प्रयोजनका लागि सिफारिस गरिएको तथ्यांक रहेको छ ।
वडाध्यक्ष खरेलले पहिलो वर्ष ११ जना, दोस्रो वर्ष १३ जना, तेस्रो वर्ष १५ जना र चालु वर्षमा मात्रै १८ जना क्यान्सर पीडित रहेको जानकारी दिँदै अस्वस्थ जीवनशैली, अव्यवस्थित खानपान तथा खराब बानी व्यवहारका कारण स्वास्थ्य समस्या बढिरहेको उल्लेख गरे । ‘स्वस्थ समाज निर्माणका लागि सरसफाई, स्वच्छ वातावरण र जनचेतना आवश्यक छ,’ उनले भने । अभियान अन्तर्गत वडाभित्र रहेका सार्वजनिक स्थान, सडक आसपास तथा बस्ती क्षेत्रमा सरसफाई गर्ने, प्लाष्टिकजन्य फोहोर संकलन गर्ने तथा नागरिकलाई प्लाष्टिकको प्रयोग कम गर्न सचेतना फैलाइने जनाइएको छ । स्थानीय युवाहरु, महिला समूह, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाको सहभागितामा अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्त पौडेलले सरसफाईलाई स्वस्थ जीवनको आधार भएको उल्लेख गर्दै सबै नागरिकलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । स्वयं क्यान्सरबाट पीडित रहेका अध्यक्ष पौडेलले रोग लागेपछि उपचारभन्दा पनि रोग लाग्न नदिन सचेत रहनु महत्वपूर्ण हुने बताए । उनले वातावरण प्रदूषण, प्लाष्टिकजन्य फोहोर तथा अस्वस्थ जीवनशैलीले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने भएकाले समुदायस्तरबाटै सुधारको अभियान आवश्यक रहेको धारणा राखे । गाउँपालिकाले आगामी दिनमा पनि सरसफाई, स्वास्थ्य सचेतना र वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
















