कोहलपुर, जेठ १ कोहलपुर नगरपालिकाले सुकुम्बासी बस्ती हटाएर नयाँ बसपार्क भवनमा स्थानान्तरण गरेका परिवारका लागि सञ्चालन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी देखिएको छ । नगरपालिकाले अस्थायीरूपमा बसोबास गराइएका परिवारको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै हेल्थ डेस्क सञ्चालन गरेपछि सामान्य बिरामीसमेत सहजरूपमा उपचार पाउन थालेका छन् ।
होल्डिङ सेन्टरमा अहिले दैनिक २० देखि ३० जनासम्मले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिइरहेका छन् । नगर अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नियमित उपचार सेवा सञ्चालन भइरहेको छ भने रातिको समयमा पनि निगरानीको व्यवस्था मिलाइएको छ । स्वास्थ्य सेवा निरन्तर सञ्चालन भएपछि सुकुम्बासी परिवारले राहत महसुस गरेका छन् । नगर अस्पतालकी नर्सिङ निरीक्षक राधा केसीका अनुसार होल्डिङ सेन्टरमा आउने अधिकांश बिरामी सामान्य प्रकृतिका छन् । ग्यास्टिक, टाउको दुख्ने, ज्वरो, रुघाखोकीजस्ता समस्या बढी देखिएको उनले बताइन् । केही व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समस्या पनि देखिएको छ । ‘अधिकांश बिरामी सामान्य खालका छन् । दैनिक २०/३० जनाको चेकजाँच भइरहेको छ,’ उनले भनिन् ।
उनका अनुसार होल्डिङ सेन्टरमा अहिले पाँचजना स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । उनीहरूले नियमित स्वास्थ्य परीक्षणसँगै औषधि वितरण, परामर्श तथा निगरानीको काम गरिरहेका छन् । बिरामीलाई आवश्यक पर्ने सामान्य औषधिसमेत निःशुल्क वितरण भइरहेको छ । होल्डिङ सेन्टरमा बसोबास गरिरहेका बालबालिकाको स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिएको छ । उमेर समूहअनुसार बालबालिकालाई जुकाको औषधि वितरण गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । अस्थायी बसोबास, भीडभाड र सरसफाइसम्बन्धी चुनौतीका कारण बालबालिकामा संक्रमण तथा स्वास्थ्य समस्या बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको हो ।
नर्सिङ निरीक्षक केसीका अनुसार हेल्थ डेस्क स्थापना भएपछि सुकुम्बासी परिवारमा स्वास्थ्यसम्बन्धी जोखिम कम भएको छ । ‘सामान्य बिरामी भए पनि सुकुम्बासीहरू चेकजाँच गराउन आउँछन् । यदि होल्डिङ सेन्टरमा हेल्थ डेस्क हुँदैनथ्यो भने उनीहरूको स्वास्थ्य समस्या झन् बढ्ने देखिन्थ्यो,’ उनले भनिन् । उनका अनुसार धेरै परिवार आर्थिकरूपमा कमजोर भएकाले बाहिर उपचारका लागि जानसमेत कठिन अवस्था थियो । ‘उपचारका लागि पैसा जुटाउन पनि समस्या हुन्थ्यो,’ उनले बताइन् । स्वास्थ्य सेवा सहज भएपछि होल्डिङ सेन्टरमा बस्ने नागरिकमा आत्मविश्वाससमेत बढेको देखिन्छ । सामान्य स्वास्थ्य समस्या हुँदा पनि तत्काल स्वास्थ्यकर्मीको पहुँचमा पुग्न पाउनु उनीहरूका लागि राहतको विषय बनेको छ । स्वास्थ्यकर्मीको नियमित उपस्थिति र औषधिको उपलब्धताले आकस्मिक समस्या आउँदा तत्काल उपचार पाउने वातावरण बनेको सुकुम्बासीको भनाइ छ ।

नगरपालिकाले सुकुम्बासी परिवारलाई व्यवस्थापन गर्ने क्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखेको जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले अस्थायी बसोबासमा रहेका नागरिकको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकार गम्भीर र सजग रहेको बताए । उनले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने नीति अनुसार हेल्थ डेस्क सञ्चालन गरिएको जानकारी दिए । नगर प्रमुख आचार्यका अनुसार अस्थायीरूपमा एउटै स्थानमा धेरै परिवार बस्दा विभिन्न स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने भएकाले नगरपालिकाले सुरुदेखि नै स्वास्थ्य सेवा सञ्चालनमा जोड दिएको हो । उनले आवश्यक परे थप स्वास्थ्यकर्मी तथा सेवा विस्तार गर्नसमेत नगरपालिका तयार रहेको बताए ।
होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारमध्ये धेरैजसो दैनिक ज्यालादारी तथा अस्थायी काम गरेर जीविका चलाउने समुदायका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूलाई नियमित स्वास्थ्य सेवा पहुँचबाहिर हुने गरेको थियो । अहिले भने निःशुल्क उपचार र औषधि उपलब्ध भएपछि उनीहरूले राहत महसुस गरेका छन् । उनीहरुका अनुसार अस्थायी बसोबासमा सुरुका दिनमा विभिन्न समस्या भए पनि अहिले स्वास्थ्य सेवा सहज भएपछि वातावरण केही व्यवस्थित बनेको छ । नियमित स्वास्थ्य जाँचले बिरामी पहिचान गर्न र समयमै उपचार गर्न मद्दत पुगेको उनीहरूको भनाइ छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हेल्थ डेस्कले प्रत्यक्ष लाभ पुर्याएको बताइन्छ ।
होल्डिङ सेन्टरमा सरसफाइ र स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, संक्रमणबाट बच्ने उपाय तथा पोषणसम्बन्धी परामर्श दिइरहेका छन् । भीडभाडयुक्त स्थानमा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निगरानीसमेत भइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार अहिलेसम्म कुनै जटिल स्वास्थ्य समस्या देखिएको छैन । अधिकांश बिरामी सामान्य प्रकृतिका रहेकाले उपचारपछि निको हुने गरेका छन् । यद्यपि मौसम परिवर्तन, भीडभाड र अस्थायी बसोबासका कारण आगामी दिनमा स्वास्थ्य चुनौती थपिन सक्ने भएकाले सतर्कता अपनाइएको छ । नगरपालिकाले सुकुम्बासी व्यवस्थापनसँगै आधारभूत सेवा उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ । स्वास्थ्य सेवा प्रभावकारी बनेपछि होल्डिङ सेन्टरमा बस्ने परिवारले कम्तीमा सामान्य उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय सरकारको सक्रियता र स्वास्थ्यकर्मीको निरन्तर उपस्थितिले अस्थायी बसोबासमा रहेका नागरिकलाई राहत पुगेको देखिएको छ ।
















