सुर्खेत, जेठ ४ सल्यानको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल विकासका तीन प्रमुख माग बजेटमा समावेश गराउन दबाब दिन कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्नामा बसेका छन् ।
जेठ १ गतेदेखि सुरु गरेको धर्नालाई उनले लगातार तेस्रो दिनसम्म जारी राखेका छन् । स्थानीय पूर्वाधार र आधारभूत सेवासँग जोडिएका माग तत्काल सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ । रिजालले घुईयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा कालोपत्र, नेपाल टेलिकमको टावर निर्माण र वडाका बस्तीमा विद्युत विस्तारको माग अघि सारेका छन् । यी योजना आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने उनको अडान छ ।
उनका अनुसार सडक स्तरोन्नति नहुँदा स्थानीयलाई वर्षायाममा आवतजावतमा समस्या हुने गरेको छ भने मोबाइल नेटवर्क र विद्युत अभावले दैनिक जनजीवन प्रभावित हुँदै आएको छ । ‘जनताले विकासको अपेक्षासहित जिताएका हुन्,’ रिजालले भने, ‘माग पूरा हुने सुनिश्चितता नआएसम्म धर्ना जारी राख्छु ।’
धर्नाका क्रममा उनी दिनरात मुख्यमन्त्री कार्यालय परिसरमै बसिरहेका छन् । रातिको समयसमेत धर्नास्थलमै बिताउँदै आएका उनले सरकारको ध्यान दुर्गम बस्तीका आधारभूत समस्यातर्फ आकर्षित गराउन आफू बाध्य भएको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधि नै प्रदेश सरकारको कार्यालयअगाडि धर्नामा बस्न पुगेपछि कर्णालीका ग्रामीण क्षेत्रमा विकास पूर्वाधार र सेवा विस्तारको अवस्था फेरि चर्चामा आएको छ ।
















