२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

एकै दिन कोहलपुरमा दुई बालिकामाथि यौन हिंसा

कोहलपुर, जेठ ७ कोहलपुर क्षेत्रमा एकै दिन दुई फरक घटनामा दुई बालिका बलात्कारको शिकार भएका छन् । दुवै घटनामा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाले कोहलपुर क्षेत्रमा बालिका सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

पहिलो घटनामा कोहलपुर नगरपालिका–६ की करिब १३ वर्षीया बालिकालाई बैजनाथ गाउँपालिका–२ छमनिया गाउँका २२ वर्षीय फुलसिंह थारुले ललाईफकाई गरी बलात्कार गरेको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आरोपीले कोहलपुर नगरपालिका–११ स्थित कृषि बजार क्षेत्रबाट बालिकालाई साइकलमा राखेर आफ्नै घर लगेको र त्यहाँ जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपीको खोजतलास सुरु गरेको थियो । खोजीका क्रममा बैजनाथ गाउँपालिका–५ बनकटुवा चोकबाट फुलसिंह थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

त्यसैगरी दोस्रो घटनामा कोहलपुर नगरपालिका–३ की करिब १५ वर्षीया बालिकालाई कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय रैबर खानले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीका अनुसार घटना मदनचोक क्षेत्रमा भएको हो । बालिका आफू अध्ययन गर्ने विद्यालयतर्फ पैदल जाँदै गर्दा आरोपीले नियन्त्रणमा लिएर मोटरसाइकलमा राखी आफ्नै ग्यारेजको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ । यस घटनाको खबर प्राप्त हुनासाथ प्रहरी बिट मदनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले तत्कालै आरोपी रैबर खानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएको जनाएको छ ।

दुवै घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा मनोवैज्ञानिक परामर्शको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै आरोपीविरुद्ध बालिका जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । एकै दिन दुई फरक स्थानमा बालिकामाथि यौन हिंसाका घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् । बालबालिका तथा किशोरीहरूको सुरक्षामा अभिभावक, विद्यालय र समुदाय अझ संवेदनशील बन्नुपर्ने आवश्यकता देखिएको स्थानीयले बताएका छन् ।

बाल अधिकारकर्मीहरूले पछिल्लो समय बालिकामाथि हुने यौन हिंसाका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्ता अपराधमा संलग्नलाई कडा कानुनी कारबाही गर्न र पीडितलाई आवश्यक न्याय तथा संरक्षण सुनिश्चित गर्न राज्यसँग माग गरेका छन् । प्रहरीले पनि बालबालिकामाथि हुने हिंसा रोक्न समुदायस्तरमा सचेतना आवश्यक रहेको बताएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।