बर्दिया । अवैध रूपमा भारततर्फ लैजान लागिएका भैंसी नियन्त्रण गरी भन्सार कार्यालयतर्फ लैजाँदै गरेका सशस्त्र प्रहरीमाथि तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा एक सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का जवान घाइते भएका छन्।
दुर्घटनामा बाँसगढी नगरपालिका–५ मोतिपुर निवासी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल गुलरिया पुर्याइएको थियो। उपचारका क्रममा आज बिहान करिब साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बाँसगढी नगरपालिका–८ ककौरा निवासी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको छ। जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
मृतक कँडेल र घाइते शाह दुवै जना फर्वार्ड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए। दुर्घटनामा घाइते भएका ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी हेटौंडाका ४० वर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा एउटा भैंसी पनि मरेको छ।

प्रहरीका अनुसार आज बिहान सवा ५ बजेतिर गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा पैदल हिँडिरहेका सशस्त्र प्रहरी टोली र उनीहरूले नियन्त्रणमा लिएका भैंसीलाई नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको हो।
बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। ती पशु चौपायालाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।














