२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

तराईमा ‘हिटवेभ’को चेतावनी

कोहलपुर, असार १०   देशका अधिकांश भूभागमा मनसुन विस्तार भएसँगै वर्षाको गतिविधि बढ्न थाले पनि तराईका केही क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको लहर (हिटवेभ) को जोखिम अझै कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तर, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा भने उच्च तापक्रमका कारण हिटवेभको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ ।

विभागले धनगढी र नेपालगन्जमा सोमबार तातो हावाको लहर चल्न सक्ने सम्भावना औँल्याएको छ । पूर्वानुमानअनुसार धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगन्जको ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । त्यस्तै वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने सम्भावना रहेको जनाइएको छ । यस्ता क्षेत्रमा तापक्रम सामान्यभन्दा बढी रहने भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने विभागको चेतावनी छ । उता पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने रातिको समयमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने प्रक्षेपण गरिएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनी प्रणाली क्रमशः सक्रिय बन्दै गएकाले देशका पहाडी र हिमाली भूभागमा वर्षाको गतिविधि बढ्ने देखिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको उनले बताए ।

प्रादेशिक मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमालदेखि तराईसम्मका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम सक्रिय रहने अनुमान गरिएको छ । मधेस प्रदेशमा आंशिक बदली रहने र तराईका एक–दुई स्थानमा वर्षा हुन सक्ने जनाइएको छ । बागमती र गण्डकीका तराई क्षेत्रमा भने वर्षासँगै गर्मीको प्रभाव पनि रहने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । रातिको समयमा भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
विभागले चट्याङ, मेघगर्जन, भारी वर्षा तथा तातो हावाको लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।