२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

तोडफोड भएका शालिक पुनःस्थापना, सुशील कोइरालाको नयाँ शालिक अनावरण

नेपालगन्ज, साउन १० विभिन्न आन्दोलनका क्रममा तोडफोड गरिएका राष्ट्रिय व्यक्तित्वका शालिकहरू पुनःस्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले पुनर्निर्माण सम्पन्न गरेपछि शनिबार एकैसाथ ती शालिकहरूको अनावरण गरेको हो ।

दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा अज्ञात समूहले तोडफोड गरेको तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको छ । त्यसैगरी जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (वीपी) कोइराला, लौह पुरुष गणेशमान सिंह, जननेता पुष्पलाल श्रेष्ठ तथा दोस्रो जनआन्दोलनका सहिद सेतु विकका शालिक पनि पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ । यससँगै संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ शालिक पनि स्थापना गरिएको छ । नेपालगन्जस्थित ट्राफिक कार्यालय नजिक निर्माण गरिएको उक्त शालिकको पनि शनिबार नै अनावरण गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार विभिन्न समयमा आन्दोलनका क्रममा तोडफोड भएका शालिकहरूको पुनःस्थापनाको विषय लामो समयदेखि उठ्दै आएको थियो । विशेषगरी दोस्रो जनआन्दोलनका क्रममा क्षति पुगेको राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने प्रयास पटक–पटक भए पनि सफल हुन सकेको थिएन । पछिल्लो समय जेन–जी आन्दोलनका क्रममा वीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र सहिद सेतु विकका शालिकमा समेत तोडफोड भएपछि उपमहानगरपालिकाले सबै क्षतिग्रस्त शालिक पुनर्निर्माण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत आवश्यक रकम विनियोजन गरी पुनर्निर्माणको काम अघि बढाइएको थियो । सोही योजनाअन्तर्गत पुराना शालिकहरूको पुनःस्थापना र सुशील कोइरालाको नयाँ शालिक निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ । शनिबार बिहान आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सबै शालिकहरूको संयुक्त रूपमा अनावरण गरे । कार्यक्रममा बोल्दै उनले राष्ट्रका लागि योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मान गर्नु सबैको साझा दायित्व भएको बताए ।

उनले राष्ट्रिय विभूतिहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन स्मारक र शालिकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै इतिहासको संरक्षण र सम्मान गर्न स्थानीय सरकारले अग्रसरता लिएको बताए । ‘हामीले राष्ट्रका लागि योगदान पुर्‍याउने राष्ट्रिय विभूतिको सम्मान गर्न सक्यौँ भने मात्र हाम्रो पनि सम्मान हुन्छ । जसले अरूको सम्मान गर्न सक्दैन, उसको पनि सम्मान हुँदैन,’ मेयर विष्टले भने । उनका अनुसार शालिकहरू केवल मूर्ति नभई राष्ट्र निर्माणमा योगदान दिएका व्यक्तित्वप्रतिको सम्मान, इतिहासको संरक्षण र नयाँ पुस्तालाई प्रेरणा दिने माध्यम पनि हुन् । त्यसैले राजनीतिक विचारभन्दा माथि उठेर सबै राष्ट्रिय व्यक्तित्वप्रति सम्मान प्रकट गर्न आवश्यक रहेको उनले बताए ।

शालिक अनावरण कार्यक्रममा उपमहानगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी, स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले राष्ट्रिय विभूतिहरूको सम्मान र ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीय सरकारको पहल सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । नेपालगन्जमा विभिन्न समयमा आन्दोलनका क्रममा तोडफोड भएका शालिकहरूको पुनःस्थापनासँगै सार्वजनिक सम्पत्तिको संरक्षण र राष्ट्रिय व्यक्तित्वप्रतिको सम्मानलाई संस्थागत गर्ने प्रयास भएको स्थानीयवासीको भनाइ छ । यस कदमले विगतका क्षतिलाई सम्बोधन गर्नुका साथै भावी पुस्तामा इतिहास र राष्ट्रिय योगदानबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।