२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

आइफोन लुट्न आफ्नै साथीको हत्या, चार जना पक्राउ

बागलुङ, साउन १० — पश्चिम बागलुङको बडिगाड गाउँपालिका–१ मा नौ दिनअघि बेपत्ता भएका १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले आइफोन मोबाइल लुट्ने उद्देश्यले गरेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको हो।

लजिन गत साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका थिए। त्यसयता सम्पर्कविहीन भएका उनको शव नौ दिनपछि शनिबार बिहान करिब सवा ९ बजे सोही वडाको मनखोलामा फेला परेको थियो।

प्रहरीका अनुसार घटनाको रात लजिनसहित छ जना साथीहरूले बडिगाड–१ स्थित दगाम्तुम्डाँडा प्राथमिक विद्यालयमा बसेर शनिबार बिहान करिब साढे २ बजेसम्म मदिरा सेवन गरेका थिए। त्यसपछि बिहान करिब ४ बजे घर फर्किने क्रममा आइफोन मोबाइलको विषयमा विवाद हुँदा रेमबहादुर बिक, ददि परियार र लजिनबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुंगाले प्रहार गर्दा उनको मृत्यु भएको देखिएको छ। त्यसपछि रेमबहादुर र ददिले शव मनखोलामा लगेर लुकाएका थिए।

प्रहरीका अनुसार घटनापछि लजिनको मोबाइल साथमा राखे शंका उत्पन्न हुन सक्ने भन्दै आरोपीहरूले मोबाइल शवकै साथमा छाडिदिएको प्रारम्भिक बयानमा स्वीकार गरेका छन्।

शव फेला नपरेको अवस्थामा व्यक्ति बेपत्ता बनाएको आशंकामा प्रहरीले पाँच दिनअघि नै चारै जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। शनिबार शव फेला परेपछि उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

लजिन काठमाडौंमा आफ्ना ठूला बुवासँग बस्दै साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत थिए। परीक्षा सकेपछि नागरिकता बनाउने योजनासहित घर आएका उनी बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा हुन्।

 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।