बाँके, साउन–२० गते। नेपालगञ्ज–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा घाइते भएका अर्का मजदुरको पनि उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल भर्ना गरिएका कोरीको साउन २० गते बिहान करिब ३:३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मृतक वर्षादी लोधको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकिएको छ। उपचारका क्रममा ज्यान गुमाएका राम फेरन कोरीको शव भने पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले इट्टा भट्टामा पर्खाल किन र कसरी भत्कियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

















