खजुरा, साउन १६ बाँकेको खजुरा गाउँपालिका–४, बद्रीपुरस्थित श्री जन कल्याण माध्यमिक विद्यालयमा १६ कोठे नयाँ भवन निर्माण हुने भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको शुक्रबार एक समारोहबीच काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै काउन्सिलर गीताञ्जली ब्रान्डनले विद्यालय भवन निर्माणलाई उच्च प्रभावयुक्त विकास परियोजनाका रूपमा लिइएको बताइन् । उनले नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा भवन निर्माण हुन लागेको उल्लेख गर्दै यो परियोजना नेपाल–भारत विकास साझेदारीको महत्त्वपूर्ण उदाहरण बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई पूर्ण विश्वास छ कि यस परियोजनाले बाँकेको खजुरा गाउँपालिकाका विद्यार्थी र शिक्षकका लागि अध्ययन–अध्यापनको वातावरण अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
शिलान्यासपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले खजुरामा यस्तो महत्त्वपूर्ण परियोजना सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गरे । उनले नयाँ भवन निर्माण भएपछि विद्यार्थीले घाम, पानी र हावाहुरीका कारण हुने समस्याबाट राहत पाउने बताए । साथै उनले भारत सरकार, भारतीय राजदूतावास तथा भारतीय जनताप्रति धन्यवाद ज्ञापन गरे । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार भवन निर्माणका लागि खजुरा गाउँपालिका र भारतीय राजदूतावासबीच २०८२ चैत १९ गते सम्झौता भएको थियो । भ्याटबाहेक ४ करोड ८१ लाख ९७ हजार ९ सय ४२ रुपैयाँमा भएको सम्झौताअनुसार कुल लागतको ९५ प्रतिशत भारतीय राजदूतावास र ५ प्रतिशत खजुरा गाउँपालिकाले व्यहोर्नेछन् । भ्याट रकम भने नेपाल सरकार र खजुरा गाउँपालिकाले बेहोर्ने गरी सम्झौता गरिएको उनले जानकारी दिए ।
कुल अनुमानित लागत ५ करोड ४२ लाख १ हजार २ सय ३६ रुपैयाँ रहेको परियोजनाको ठेक्का प्रक्रियामा १५ निर्माण कम्पनी सहभागी भएका थिए । प्रतिस्पर्धाबाट जेबीजी र नागरिक निर्माण सेवा, बारबर्दिया–९, बर्दियाले ३ करोड ७७ लाख ९५ हजार ९ सय ९८ रुपैयाँमा ठेक्का प्राप्त गरेको जनाइएको छ । निर्माण व्यवसायीसँग २०८३ असार ११ गते सम्झौता भइसकेको छ भने १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कार्यादेश दिइएको खजुरा गाउँपालिकाले जनाएको छ । अध्यक्ष विकका अनुसार भवनमा १६ वटा स्मार्ट कक्षाकोठा रहनेछन् । भुइँतलामा ८ वटा र पहिलो तलामा ८ वटा कक्षाकोठा निर्माण गरिनेछ । साथै छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय तथा विद्यालय परिसरमा इन्टरलक बिछ्याउने व्यवस्था पनि गरिनेछ ।

विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले हाल केही कक्षाकोठा टिनले छाइएका कारण पठनपाठनमा समस्या भइरहेको बताउँदै नयाँ भवन निर्माणपछि विद्यार्थीलाई गुणस्तरीय वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । शिलान्यास समारोहमा पूर्व संसद् सचिवालयका सचिव गोपालनाथ योगी, खजुरा गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्री, वडा नं. २ का वडाध्यक्ष धनराम वली, वडा नं. ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, कार्यपालिका सदस्य, वडा सदस्य, इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज नवीन चापागाईं, भूपू सैनिक, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा स्थानीयवासी तथा विद्यालय परिवारले भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनलाई पञ्चेबाजा र फूलमालासहित स्वागत गरेका थिए ।
















