काठमाडौँ — रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका एक विदेशी नागरिकको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट नेपाली सेनाको उद्धार टोलीले जीवितै उद्धार गरेको छ।
शनिबार आयोजनास्थलबाट उनलाई सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। यही १० गते आएको बाढीका कारण उनी सम्पर्कविहीन भएका थिए।
बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा क्षति पुगेपछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ। सोही क्रममा नेपाली सेनाको टोलीले माथिल्लो त्रिशूली १ आयोजनामा उद्धार अभियान सञ्चालन गरी विदेशी नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

यसअघि शुक्रबार पनि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरेको थियो।
रसुवामा बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धारका लागि सुरक्षा निकायले विभिन्न स्थानमा अभियान जारी राखेको छ।
















