काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आएको बाढीले चार वटा घरसहित एउटा झोलुङ्गे पुल बगाएको छ । आज बिहान आएको बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन । बाढी आउनुअघि नै स्थानीयवासीले जोखिमको अनुमान गरी सुरक्षित स्थानमा पुगेकाले ठूलो मानवीय दुर्घटना हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।बाढीले चुमनुब्री–४ र २ भएर बग्ने थेराङ खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ । पुलमा क्षति पुगेपछि मनास्लु पदमार्गमा रहेका पर्यटक तथा स्थानीयको आवतजावत प्रभावित हुने देखिएको छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि स्थानीयस्तरबाट वैकल्पिक बाटो तथा आवतजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहान क्षेत्रमा केही समय पानी तथा लेदो थुनिएर एक्कासी बगेपछि बाढी आएको प्रारम्भिक जानकारी छ । थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले त्यस आसपासका बस्ती तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
















