पूर्वाधार शाखाको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाभित्र ४ हजार ८ सय २१ मिटर सडक कालोपत्रे गरिएको छ । यसैगरी २४ हजार २ सय ८ मिटर सडक ग्राभेल, २ हजार ३० मिटर नयाँ सडकको ट्र्याक ओपन तथा ५ हजार ७० मिटर पीसीसी सडक निर्माण भएको छ । सडकसँगै ८ वटा कल्भर्ट निर्माण गरिएको छ । यसले गाउँपालिकाका ग्रामीण बस्ती, बजार, विद्यालय, स्वास्थ्य संस्था तथा मुख्य सडकबीचको आवागमन थप सहज बनाउने अपेक्षा गरिएको छ ।
राप्तीसोनारी, भदौ २१ राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सडक तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै एक वर्षको अवधिमा ठूलो परिमाणमा निर्माणका काम सम्पन्न गरेको छ । गाउँपालिकाको पूर्वाधार शाखाले तयार पारेको वार्षिक प्रगति विवरणअनुसार सडक कालोपत्रे, ग्राभेल, पीसीसी, नाली, कल्भर्ट, ग्याबिन, ह्युम पाइप, सिँचाइ, खानेपानी, भवन तथा अन्य पूर्वाधारका गरी दर्जनौँ योजना कार्यान्वयनमा आएका छन् ।
पूर्वाधार शाखाको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाभित्र ४ हजार ८ सय २१ मिटर सडक कालोपत्रे गरिएको छ । यसैगरी २४ हजार २ सय ८ मिटर सडक ग्राभेल, २ हजार ३० मिटर नयाँ सडकको ट्र्याक ओपन तथा ५ हजार ७० मिटर पीसीसी सडक निर्माण भएको छ । सडकसँगै ८ वटा कल्भर्ट निर्माण गरिएको छ । यसले गाउँपालिकाका ग्रामीण बस्ती, बजार, विद्यालय, स्वास्थ्य संस्था तथा मुख्य सडकबीचको आवागमन थप सहज बनाउने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले सडक निर्माणलाई केवल कालोपत्रे र ग्राभेलमा सीमित नराखी जलनिकास तथा सडक संरक्षणका संरचनासमेत निर्माण गरेको छ । एक वर्षमा ३ हजार ५ सय ९४ मिटर पक्की आरसीसी तथा इँटाको नाली, २५ मिटर पक्की इँटाको नाली र १ सय ११ मिटर पक्की ढुंगाको नाली निर्माण गरिएको छ । त्यस्तै ५ सय ८० मिटर इँटा तथा कंक्रिटको पर्खाल र २ सय ४० मिटर ढुंगाको पर्खाल निर्माण भएको छ । बाढी तथा कटान नियन्त्रणका लागि विभिन्न स्थानमा ग्याबिन जालीको काम गरिएको छ ।
वडास्तरमा सडक विस्तार

गाउँपालिकाको योजना विवरणअनुसार वडा नम्बर १ मा सिक्टा, गाभर ओजखोलालगायतका स्थानमा सिँचाइसम्बन्धी काम, पावर ड्रिल तथा स्यालो ट्युबेल सञ्चालन गरिएको छ । वडा नम्बर २ मा मूल सडकदेखि टिकुलीपुर स्कुल हुँदै स्तम्भ जोड्ने सडकमा पीसीसी गर्ने काम गरिएको छ ।
वडा नम्बर ७ मा बघौडा रोडदेखि बोहराको घर हुँदै पोखरामाता मन्दिरसम्म दुवैतर्फ पक्की नालीसहित सडक स्तरोन्नतिको योजना कार्यान्वयन भएको छ । उक्त सडकमा ५ सय ५२ मिटर पीसीसी तथा एउटा कल्भर्ट निर्माण गरिएको विवरणमा उल्लेख छ । वडा नम्बर ४ मा देउपुरुवादेखि सडक फुटलैया जोड्ने सडक कालोपत्रे गरिएको छ । सो सडकमा ४ सय ७९ मिटर कालोपत्रेसँगै नाली र ९ सय ७५ मिटर ग्राभेल सडक निर्माण गरिएको छ ।
वडा नम्बर ३ मा बको खोलादेखि अजरुवाखोलासम्म नालीसहित सडक स्तरोन्नति गरिएको छ । करिब ३ सय ६६ मिटर सडक कालोपत्रे गरिएको छ । वडा नम्बर ५ मा विनौना चोकदेखि राप्ती पुलसम्म सडक चौडा गर्ने, पक्की नाली निर्माण गर्ने तथा सडक स्तरोन्नतिको काम गरिएको छ । वडा नम्बर ६ का विभिन्न स्थानमा सिँचाइ नाली निर्माण, मर्मत तथा ट्युबवेल सञ्चालनका काम भएका छन् । सो वडामा मात्रै ६ सय ७ मिटर आरसीसी सिँचाइ नाली निर्माण गरिएको छ ।
वडा नम्बर ८ मा अष्टम साना किसानदेखि सभा हल हुँदै हाटबजारसम्म नालीसहित पीसीसी सडक स्तरोन्नति गरिएको छ । यस क्रममा २५४ मिटर आरसीसी नाली र २५४ मिटर पीसीसी सडक निर्माण भएको छ । वडा नम्बर ९ मा माथिल्लो महादेवादेखि तल्लो महादेवासम्म नालीसहित ३ सय ७८ मिटर कालोपत्रे सडक निर्माण गरिएको छ ।
मुख्य तथा ग्रामीण सडकमा लगानी
गाउँपालिकाले अगैया बजारदेखि सिक्टा पुलसम्म तथा भवानीयापुर चोकदेखि नारायणपुर चोकसम्म सडक निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । वडा नम्बर ३ अन्तर्गतका सडकमा ३ सय ७९ मिटर कालोपत्रे तथा १ सय ४० मिटर पीसीसी सडक निर्माण गरिएको विवरणमा उल्लेख छ ।
गोभारपुर क्षेत्रमा १ सय १० मिटर पीसीसी सडक निर्माण भएको छ । सिक्टा गाउँमा सडक स्तरोन्नतिअन्तर्गत १ हजार ८ सय ४३ मिटर ग्राभेल सडक निर्माण गरिएको छ । वडा कार्यालयदेखि स्वास्थ्य चौकी जाने सडकमा पीसीसीसँगै ५० मिटर नाली र ७ सय ७७ मिटर ग्राभेल सडक निर्माण गरिएको छ । कुम्भरदेखि पश्चिम जाने सडकमा ७ सय ७७ मिटर ग्राभेल सडक निर्माण गरिएको छ । गोभरपुर सडकमा दुई खण्ड गरी १ सय ८६ मिटर पीसीसी सडक निर्माण गरिएको छ ।
टेकबहादुर कुसारीको घरदेखि जितबहादुर खत्रीको घरसम्म २ सय २० मिटर पीसीसी सडक निर्माण गरिएको छ । दङ्गपुरुवादेखि लटिनियाँ जाने सडक तथा धामपुरदेखि शितलभण्डार हुँदै दङ्गपुरुवा जाने सडकमा क्रमशः ७ सय ७५ मिटर ग्राभेल सडक निर्माण भएको छ । नयाँ बस्तीबाट लटिनियाँ जाने सडकमा ह्युम पाइपसहित ग्राभेल गरिएको छ ।
मटैया टोलमा १ सय ३६ मिटर पीसीसी सडक निर्माण भएको छ । भगवती आधारभूत विद्यालयदेखि साहुटोलसम्म ६ सय ३० मिटर ग्राभेल सडक तथा लालपुर ड्यामदेखि भगवानपुरसम्म ९ सय ३० मिटर ग्राभेल सडक निर्माण गरिएको छ । विभिन्न आयोजना साझेदारीअन्तर्गत मडुई सिमरहवा टोलको प्रतीक्षालयदेखि उत्तर जाने बाटोमा १ सय ९२ मिटर आरसीसी नाली तथा १ सय ९२ मिटर पीसीसी सडक निर्माण गरिएको छ । चिलहरियादेखि ललही जाने सडकमा ३ सय २३ मिटर पीसीसी सडक निर्माण भएको छ ।
वडा नम्बर २ मा पाँचकुलेदेखि भग्गु टोल जाने सडक कालोपत्रे, वडा कार्यालयको दक्षिणतर्फ पक्की सडक निर्माण तथा वडा कार्यालयदेखि दक्षिण जाने सडक स्तरोन्नति गरिएको छ । खोरेयामा महँगु थारुको घरदेखि दक्षीणतर्फ पक्की सडक निर्माण गरिएको छ । यस खण्डमा ५ सय १० मिटर पीसीसी, १ सय ९० मिटर कालोपत्रे तथा २५४ मिटर आरसीसी नाली निर्माण भएको विवरणमा उल्लेख छ । देवपुरुवादेखि सडक फुटलैया जोड्ने सडक कालोपत्रे गर्ने योजना पनि गाउँपालिकाको प्रमुख योजनामध्ये रहेको छ ।
यसमा ५ सय ४८ मिटर कालोपत्रे सडक निर्माण भएको छ । सिक्टा, गाभर ओझाखोला लगायतका क्षेत्रमा सिँचाइका लागि पावर ड्रिल तथा स्यालो ट्युबेल सञ्चालन गरिएको छ । विनौना चोकदेखि राप्ती पुलसम्म सडक चौडा पार्ने र पक्की नाली निर्माण गर्ने काममा २ सय १० मिटर कालोपत्रे र ७ सय मिटर आरसीसी नाली निर्माण भएको विवरणमा उल्लेख छ ।
अर्गानिक होटलदेखि सरस्वती मावि गुरुवागाउँसम्म १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्ने योजनाअन्तर्गत १ सय ९० मिटर कालोपत्रे गरिएको छ । रिम्ना पार्कदेखि पश्चिम–पूर्वसम्म १ हजार ४ सय ८४ मिटर सडक कालोपत्रे, ६० मिटर ह्युम पाइप, ४ सय १० मिटर नाली तथा १ सय २० मिटर ढुंगाको पर्खाल निर्माण गरिएको छ । वडा नम्बर १ को वडा कार्यालयदेखि द्वार चोक जाने सडकमा १ सय ४७ मिटर पीसीसी सडक निर्माण भएको छ । अमर ज्योति माविदेखि भित्री सडक स्तरोन्नतिमा १ हजार १ सय ३६ मिटर ग्राभेल गरिएको छ ।
भवनदेखि विपन्नका घरसम्म
पूर्वाधार विकासअन्तर्गत सडकबाहेक सामाजिक पूर्वाधार निर्माणमा पनि गाउँपालिकाले काम गरेको छ । प्रगति विवरणअनुसार ५ वटा अन्य नयाँ भवन, २ वटा विद्यालय भवन र ८ वटा पुराना भवन मर्मत गरिएको छ । विपन्न वर्गका लागि ३० वटा भवन निर्माण गरिएको छ । भुयारथान, मन्दिर तथा मस्जिद गरी ६ वटा धार्मिक संरचना, तीनवटा प्रतीक्षालय तथा गेट र सार्वजनिक तथा सामुदायिक भवनमा ११ वटा शौचालय निर्माण गरिएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणमा समेत काम भएको छ । योजनाको विवरणमा स्वास्थ्य चौकी भवन निर्माण तथा प्रयोगशाला कक्षसहितका संरचना निर्माणलाई प्राथमिकता दिइएको उल्लेख छ । त्यस्तै गाउँपालिकाले ३ हजार २ सय ३४ दशमलव ५२ घनमिटर माटो पटान गरेको छ । १ हजार २० मिटर कच्ची नाली, १५ मिटर नाली कभर तथा २ हजार २ सय ६१ मिटर तारजाली निर्माण गरिएको छ । कृषि तथा पशुपालनसँग जोडिएका संरचनामा १३ वटा चिलिङ मेसिन जडान गरिएको छ ।
विद्यालय क्षेत्रमा समेत छुट्टाछुट्टै योजनामार्फत काम गरिएको छ । गाउँपालिकाको विवरणअनुसार ४१ वटा विभिन्न विद्यालयमा जिप्सम, जस्तापाता, शौचालय मर्मत तथा निर्माण र खानेपानीसम्बन्धी काम गरिएको छ । यसले विद्यालयका भौतिक संरचना सुधार तथा विद्यार्थीका लागि आधारभूत सुविधाको पहुँच विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
आवश्यकता र प्राथमिकताका आधारमा योजना
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारीको भौगोलिक अवस्था र नागरिकको आवश्यकता हेरेर पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए । उनले सडक निर्माणसँगै नाली, कल्भर्ट, सिँचाइ, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र विपन्न नागरिकका लागि आवास निर्माणलाई पनि समान महŒव दिइएको बताए । ‘राप्ती सोनारी ठूलो भूगोल भएको गाउँपालिका हो । सबै बस्तीलाई समान रूपमा विकासको पहुँचमा ल्याउन सडक र पूर्वाधार पहिलो आवश्यकता हो । त्यसैले नागरिकले प्रत्यक्ष लाभ पाउने योजनालाई प्राथमिकता दिएर काम अघि बढाएका छौँ,’ अध्यक्ष पौडेलले भने ।
प्रमुख प्रशासकीय अधिकृत मणिराम खरेलले योजना कार्यान्वयन गर्दा उपलब्ध स्रोत, आवश्यकता र प्राथमिकतालाई आधार बनाइएको बताए । उनका अनुसार पूर्वाधार निर्माणमा गुणस्तर, पारदर्शिता र समयमै काम सम्पन्न गर्ने विषयलाई कार्यालयले विशेष ध्यान दिएको छ । ‘पूर्वाधारको विकास भनेको सडक मात्रै होइन । सडकसँगै पानी निकास, सिँचाइ, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संरचना आवश्यक हुन्छन् । त्यसैले योजनालाई समग्र पूर्वाधार विकासको अवधारणाअनुसार कार्यान्वयन गरेका छौँ,’ खरेलले भने ।
योजना शाखा प्रमुख राजेश बोहोराले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधारतर्फ ठूलो संख्यामा योजना कार्यान्वयनमा आएको बताएका छन् । उनका अनुसार सडकको पहुँच विस्तारसँगै सडकलाई टिकाउ बनाउन नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन निर्माणमा पनि जोड दिइएको छ । ‘योजनाहरू बस्तीको आवश्यकता, नागरिकको माग र प्राविधिक सम्भाव्यताका आधारमा अघि बढाइएका छन् । कतिपय ठाउँमा सडक मात्रै बनाएर समस्या समाधान हुँदैन, पानी निकासका लागि नाली, खोल्सामा कल्भर्ट र कटान हुने क्षेत्रमा ग्याबिन तथा पर्खाल आवश्यक हुन्छ । त्यसैले पूर्वाधारका सबै पक्षलाई समेटेर काम गरिएको हो,’ बोहोराले भने ।
राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा गरेको प्रगति हेर्दा ग्रामीण सडक पूर्वाधार यसको मुख्य प्राथमिकतामा रहेको देखिन्छ । हजारौँ मिटर सडक कालोपत्रे, ग्राभेल तथा पीसीसीसँगै नाली, कल्भर्ट र सडक संरक्षणका संरचना निर्माण हुनुका साथै विद्यालय, स्वास्थ्य, खानेपानी, सिँचाइ र विपन्न नागरिकका आवाससम्म कार्यक्रम विस्तार भएका छन् । गाउँपालिकाका अनुसार आगामी दिनमा निर्माण भएका सडकलाई व्यवस्थित र दिगो बनाउने, बाँकी रहेका बस्तीलाई सडक सञ्जालसँग जोड्ने तथा सडकसँगै आवश्यक नाली, पुल–पुलेसा र अन्य पूर्वाधार निर्माणलाई निरन्तरता दिने लक्ष्य राखिएको छ । यसबाट राप्ती सोनारीका ग्रामीण बस्तीमा यातायात, कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा दैनिक सेवा प्रवाहमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
















