कैलाली, भदौ २५ नौ दिनसम्म परिवारसँग कुनै सम्पर्क थिएन । मोबाइल थिएन, खबर पठाउने माध्यम थिएन । रसुवामा आएको बाढीले सबैतिरको सम्पर्क टुटेको थियो । कैलालीको जानकी गाउँपालिका–७, खल्लागोलौरीका छुनुकराम डंगौराको परिवारलाई उनी जीवित छन् कि छैनन् भन्ने पनि थाहा थिएन । त्यसैले भदौ १० गतेपछि बितेका प्रत्येक दिन उनका लागि परिवारको प्रतीक्षा र त्रासमा बित्यो ।
नौ दिनपछि जब छुनुकराम घरको आँगनमा आइपुगे, परिवारले उनलाई देखेर राहतको सास फेर्यो । उनी जीवित फर्किएका थिए । तर उनको मन भने अझै रसुवाको त्यही अँध्यारो सुरुङमा थियो, जहाँ उनले आफ्नै आँखाअगाडि चार जना साथीलाई बाढीले बगाएको देखेका थिए । भदौ १० गते बिहान करिब ९ बजेर २० मिनेटमा छुनुकराम रसुवास्थित चाइना हाइड्रोपावरको सुरुङभित्र काम गरिरहेका थिए । उनी मेसिनमाथि थिए । उनीसँगै १२ जना पनि मेसिनमाथि बसेर ढलानको काम गरिरहेका थिए । अचानक सुरुङभित्र बाढी पस्यो । के भइरहेको छ भन्ने बुझ्न नपाउँदै पानीको भेल उनीहरूतिर आइपुग्यो ।
भाग्ने ठाउँ थिएन । सुरुङ अँध्यारो थियो । पानीसँगै लेदो र माटो भरिन थालेको थियो । त्यही क्रममा छुनुकरामले आफ्नै आँखाअगाडि चार जना साथीलाई बाढीले बगाएको देखे । उनीहरूमध्ये एक जना कोरियाली इन्जिनियर थिए । ‘आँखै अगाडि साथीहरूलाई बाढीले लग्यो । के गर्ने ? आफ्नै ज्यान जोगाउन गाह्रो थियो । उनीहरूलाई बचाउन सकिएन,’ छुनुकराम भन्छन्, ‘त्यो घटना सम्झिँदा अहिले पनि सपना हो कि बिपना हो भन्ने छुट्ट्याउन गाह्रो हुन्छ ।’
बाढी घट्ने प्रतीक्षामा उनीहरू सुरुङभित्र करिब साढे तीन घण्टा बसे । अन्ततः बाहिर निस्कँदा सुरुङ माटो र लेदोले भरिएको थियो । ‘हाम्रो मुखमात्रै देखिन्थ्यो । शरीरभरि माटैमाटो थियो । जताततै लेदो थियो । पहाड नै खसेजस्तो अन्धकार थियो,’ उनी सम्झन्छन् । बाहिर निस्किएपछि उनीहरू पहाड चढ्दै एउटा गाउँ पुगे । गाउँलेहरूले बास दिए । खानेकुरा थिएन । आलु उसिनेर खाए र आगो तापेर रात कटाए । भोलिपल्ट डेरातर्फ झर्दा त्यहाँ घर, बजार, कम्पनी र सामान केही पनि बाँकी थिएन ।

त्यसपछि उनीहरू एउटा विद्यालयमा पुगे । चार दिन त्यहीँ बसे । हेलिकोप्टरबाट चाउचाउ, बिस्कुट र पानी दिइन्थ्यो । उद्धारको प्रतीक्षा गर्दै चार दिन बितेपछि बसको व्यवस्था भयो र उनीहरू काठमाडौँ पुगे । पशुपतिनाथ नजिकैको होटलमा दुई दिन बसेपछि एक जना दिदीले बसभाडा सहयोग गरिन् । बाढी आएको नौ दिनपछि उनी कैलालीको घर पुगे । छुनुकराम राजमिस्त्री हुन् । कक्षा ८ पछि पढाइ छाडेका उनले गाउँमै काम गरेर १७ सदस्यीय परिवार पाल्दै आएका छन् । करिब एक महिनाअघि सालोसँगै रसुवा पुगेका उनले दैनिक एक हजार ५० रुपैयाँ ज्याला पाउँथे । तर अहिले फेरि सुरुङमा फर्किने उनको मन छैन ।
घर फर्किएपछि परिवारले पनि उनलाई भनेको छ, ‘ज्यान जोगाएर आइस्, अब त्यस्तो सुरुङमा काम गर्न नजानू । घरमै जे काम पाइन्छ, त्यही गरेर सुखदुःख गरेर खाउँला ।’ तर छुनुकरामको पीडा त्यत्तिमै सकिएको छैन । उनीसँगै रसुवा पुगेका उनका साला बाढीपछि सम्पर्कविहीन छन् । उनी काम गर्ने ठाउँमा नभई डेरामा थिए । अहिलेसम्म उनको अवस्थाबारे कुनै खबर आएको छैन । आफू मृत्युको मुखबाट बाँचेर घर फर्किए पनि छुनुकरामको मन अझै रसुवामै अडिएको छ । आँखै अगाडि साथीहरू बगेको दृश्य र अँध्यारो सुरुङभित्र बिताएका साढे तीन घण्टा उनका लागि जीवनभर नमेटिने स्मृति बनेका छन् ।
बाढीले उनलाई बगाउन सकेन । तर उसले उनको रोजगारी, सामान, काम गर्ने ठाउँ र साथीहरू खोस्यो । अब उनी घर फर्किएका छन्, परिवारको बीचमा । तर जीवन भने उनलाई फेरि शून्यबाट सुरु गर्नुपर्ने ठाउँमा ल्याइपुर्याएको छ ।
















