काठमाडौँ — विपद्का बेला उद्धार तथा राहतका लागि परिचालन हुँदै आएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषमा नेपाली रुपैयाँ र अमेरिकी डलर गरी कुल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ बराबरको रकम उपलब्ध छ ।
कोषको नेपाली रुपैयाँतर्फ विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात रहेको छ । त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भदौ २५ गते मात्रै कोषमा नेपालीतर्फ रु १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको थियो । विपद्का घटनामा राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको छ ।

यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोषबाट रु १ अर्ब निकासा गरिएको थियो । उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो ।
विपद्का घटना बढ्दै जाँदा उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले कोषमा रहेको मौज्दातलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले विपद् प्रभावित क्षेत्रको तत्कालीन राहतसँगै पुनःस्थापनाका काममा समेत कोषको रकम प्रयोग गर्दै आएको छ ।
















