२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा

 


काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको हो ।

उद्योग समितिको बैठकमा उनले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको ग्यास अभाव उद्योगीका कारण भएको दाबी गरेकी थिइन् । ग्यास उद्योगीलाई कडाइ नगरेसम्म अभावको समस्या समाधान नहुने उनको भनाइ थियो ।

यादवले देशमा हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको भन्दै उद्योगको संख्या घटाउनुपर्ने धारणा समेत राखेकी थिइन् । उनका अनुसार देशका लागि दुईवटा ग्यास उद्योग भए पुग्ने थियो ।

मन्त्रीको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराउँदै अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

यादवले चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

यसैबीच, काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएको छ । उपभोक्ताहरू एउटा सिलिन्डरका लागि घण्टौं लाइन बस्न बाध्य छन् । बजारमा ग्यास पाए पनि तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको उपभोक्ताको गुनासो छ ।

नेपाल आयल निगम र उद्योग मन्त्रालयले नियमित रूपमा ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गर्दै आए पनि बजारमा भने त्यसअनुसार सहज आपूर्ति हुन नसकेको उपभोक्ताको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।