चितवन, भदौ–२६ गते । चितवनको भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा कारभित्र रहेका एक जना पुरुषको मृत्यु भएको छ । आगलागीपछि कारभित्र जलेको अवस्थामा शव फेला परेको हो । मृतकको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजे कारमा अचानक आगलागी भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना मानिस जलेको अवस्थामा मृत फेला परेका थिए ।मृतकको हाल नाम, थर र ठेगाना खुल्न सकेको छैन । आगलागीबाट कारसमेत जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

















