२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

राप्तीसोनारी वडा नम्बर ६ सडकदेखि स्वास्थ्यसम्म, विकासको विस्तार

राप्तीसोनारी–६ को गत आर्थिक वर्षको प्रगति हेर्दा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सामाजिक सुरक्षा र सेवा प्रवाहलाई एकसाथ अघि बढाउने प्रयास भएको देखिन्छ । भौतिक पूर्वाधार निर्माणसँगै नागरिकको सामाजिक तथा आर्थिक जीवनसँग जोडिएका कार्यक्रम सञ्चालन गरिएकाले वडाको समग्र विकासको आधार थप बलियो बनेको वडा कार्यालयको निष्कर्ष छ ।


राप्तीसोनारी, भदौ ३१।   राप्तीसोनारी गाउँपालिका–६ मा सडकदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सामाजिक विकाससम्मका क्षेत्रमा गत आर्थिक वर्षमा उल्लेख्य काम भएका छन् । नागरिकका दैनिक आवश्यकता र स्थानीय प्राथमिकतालाई केन्द्रमा राखेर वडा तथा गाउँपालिकामार्फत सञ्चालन गरिएका विभिन्न योजनाले गाउँको पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई समेत थप व्यवस्थित बनाएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा प्रतिवेदनअनुसार वडा नम्बर ६ मा सडक स्तरोन्नति, ग्राभेल तथा पीसीसी निर्माण, विद्यालय तथा खेलकुदसम्बन्धी कार्यक्रम, स्वास्थ्य सेवा विस्तार, खानेपानी, कृषि, पशु सेवा, सरसफाइ, महिला तथा बालबालिका लक्षित कार्यक्रमलगायतका योजनाहरू सम्पन्न भएका छन् । विकास निर्माणसँगै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ ।

वडाध्यक्ष लवराज खरेलले नागरिकको आवश्यकता र स्थानीयस्तरमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर विकास योजनाहरू अघि बढाइएको बताए । उनका अनुसार वडामा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवासँगै कृषि, खेलकुद, सामाजिक सुरक्षा र महिला तथा बालबालिकाका क्षेत्रमा पनि काम भएको छ । ‘वडाको विकासलाई नागरिकको जीवनसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो,’ उनले भने, ‘क्रमशः सबै बस्तीमा आधारभूत सेवा र पूर्वाधारको पहुँच विस्तार गर्ने काम भइरहेको छ ।’

राप्तीसोनारी–६ को विकासमा सबैभन्दा महत्त्वपूर्ण  उपलब्धिमध्ये सडक पूर्वाधार विस्तार र स्तरोन्नति छ । गत आर्थिक वर्षमा गाउँपालिकाबाट वडाका विभिन्न स्थानमा सडक ग्राभेल, पीसीसी निर्माण तथा सडकको स्तर उन्नतिका योजना सञ्चालन भएका छन् । बाहुनको घरदेखि ठकुरी कान्छाको घर हुँदै खल्ला चौधरीको घरसम्मको सडक ग्राभेलका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । बमलहवा सडकमा पीसीसी निर्माणका लागि ७ लाख ५४ हजार ५ सय १६ रुपैयाँ, जोरैयाको सडक स्तरोन्नतिका लागि १० लाख रुपैयाँ र पनेरियामा सडक स्तरोन्नतिका लागि ९ लाख ९६ हजार २२९ रुपैयाँको योजना सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी पनेरियाको अधुरो सडकमा पीसीसी निर्माण, बालुवाडाँडा सडक स्तरोन्नति, छोटकीपुरवा गुलरीचोकदेखि रामलाल थारुको घरसम्मको सडक ग्राभेल तथा सरस्वतीकुमारको घरदेखि सीता पुनको घरसम्म जाने बाटो ग्राभेललगायतका काम सम्पन्न भएका छन् । सडक पूर्वाधारमा गरिएको लगानीले बस्ती र मुख्य सडकबीचको पहुँच थप सहज बनाएको वडा कार्यालयको भनाइ छ । शिक्षा क्षेत्रमा पनि वडाले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्षमता विकासलाई प्राथमिकता दिएको छ । वडा नम्बर ६ मा सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा छन् । जनसिद्धेश्वर बहुमुखी क्याम्पस, सिद्धेश्वर माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, दीप ज्योति प्राथमिक विद्यालय र सुकमैया प्राथमिक विद्यालय सामुदायिकतर्फ छन् । त्यस्तै राप्ती इङ्लिस मिडियम स्कुल, कृष्ण इङ्लिस मिडियम स्कुल र भेलेज इङ्लिस स्कुल संस्थागततर्फ सञ्चालनमा छन् । विद्यालयमा विद्यार्थीका लागि कम्प्युटर तालिम, खेलमैदान तथा क्रिकेट खेल सञ्चालन, आधारभूत तह रनिङ शिल्ड प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिएको छ । यसले विद्यार्थीलाई नियमित पढाइसँगै प्रविधि, खेलकुद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने वातावरण निर्माण गरेको छ ।

स्वास्थ्य सेवातर्फ पनि वडाले स्थानीय नागरिकलाई आधारभूत उपचार गाउँमै उपलब्ध गराउँदै आएको छ । कमैयाडाँडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बहिरंग उपचार, नवजात तथा बालरोग व्यवस्थापन, परिवार नियोजन, खोप, गाउँघर क्लिनिक, आमा सुरक्षा कार्यक्रम, क्षयरोग तथा कुष्ठरोगसम्बन्धी सेवा, कालाजार तथा मलेरिया परीक्षण तथा उपचार, कुपोषित बालबालिकाको उपचार र एचआईभी परीक्षण तथा परामर्श सेवा उपलब्ध हुँदै आएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य केन्द्रबाट ८ हजार ३ सय ४६ जना सेवाग्राहीले सेवा लिएका छन् । यस अवधिमा सुत्केरी सेवासमेत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध हुँदा सामान्य उपचारका लागि टाढा जानुपर्ने नागरिकको बाध्यता कम भएको छ । खानेपानीतर्फ मोहनपुरमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत धारा जडान गरी २०८० साल वैशाखदेखि सेवा सञ्चालनमा रहेको छ । पेनेरियामा अर्को खानेपानी योजना निर्माणको अवस्थामा रहेको छ । वडा कार्यालयले खानेपानीको पहुँच विस्तारलाई पनि स्थानीय विकासको महŒवपूर्ण आधारका रूपमा अघि बढाएको छ ।

कृषि तथा पशुपालनमा निर्भर नागरिकलाई लक्षित गर्दै वडाले कृषि सामग्री र पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरेको छ । धानको बीउमा ५० प्रतिशत अनुदान वितरण तथा पशु शिविर सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्ता कार्यक्रमले किसानको उत्पादन लागत घटाउन र पशु स्वास्थ्यसम्बन्धी सेवा गाउँमै पुर्‍याउन सहयोग पुगेको वडा कार्यालयले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रमले पनि वडाको सामाजिक विकासलाई जोड दिएको छ । ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, बालविवाह न्यूनीकरण, महिला तथा बालबालिका लक्षित कार्यक्रम, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन भएका छन् । मुक्त कमैया समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

वडा सचिव सुरेन्द्रकुमार बर्माका अनुसार विकास निर्माणसँगै नागरिकलाई आवश्यक प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउने कामलाई पनि प्राथमिकतामा राखिएको छ । उनका अनुसार वडा कार्यालयले सिफारिस, व्यक्तिगत घटना दर्ता तथा अन्य प्रशासनिक सेवा नियमितरूपमा प्रवाह गर्दै आएको छ । ‘नागरिकले वडा कार्यालयबाट पाउने सेवा सहज र व्यवस्थित बनाउनु हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘विकास निर्माणसँगै सेवा प्रवाहलाई पनि प्रभावकारी बनाउँदै लगिएको छ ।’ आर्थिक वर्ष २०८२/८३ मा वडा कार्यालयबाट नेपाली नागरिकता सिफारिस १ सय ९०, नाता प्रमाणित १ सय ४०, घरबाटो सिफारिस १ सय १० र चारकिल्ला सिफारिस ९० वटा गरिएको छ । अन्य शीर्षकमा १ हजार ४ सय ९२ वटा सिफारिससहित कुल २ हजार २२ वटा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

व्यक्तिगत घटना दर्तातर्फ पनि वडाले प्रभावकारी सेवा दिएको छ । एक वर्षमा १ सय ६६ जन्मदर्ता, ८४ विवाहदर्ता, ४६ मृत्युदर्ता र १४ सम्बन्धविच्छेद दर्ता भएका छन् । बसाइँसराइसम्बन्धी घटनासमेत गरी कुल ३ सय २४ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । सामाजिक सुरक्षाको क्षेत्रमा वडा नं. ६ का ६ सय ८१ जना लाभग्राहीले विभिन्न प्रकारका सामाजिक सुरक्षा सुविधा पाउँदै आएका छन् । ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्ति र दलित बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रममा समेटिएको छ ।

वडामा स्थानीय सहभागितालाई बढाउन १८ वटा टोल विकास संस्था गठन गरिएको छ । टोल विकास संस्थामार्फत स्थानीय आवश्यकता पहिचान, विकासका गतिविधिमा नागरिक सहभागिता र समुदायस्तरमा सहकार्य बढाउने प्रयास गरिएको छ । वडामा पाँचवटा सामुदायिक वनसमेत रहेका छन् । सदाबहार, खप्पर बाबा, सिद्ध बाबा, राप्ती पीडित र सिद्धेश्वर सामुदायिक वनले वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएका छन् । गत आर्थिक वर्षमा वडाको आन्तरिक आम्दानी ८ लाख ६४ हजार ६ सय ६४ रुपैयाँ ३६ पैसा रहेको छ । सीमित आन्तरिक स्रोतका बीच गाउँपालिका तथा अन्य तहबाट प्राप्त बजेटलाई स्थानीय आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्दै विकासका योजनाहरू अघि बढाइएको हो ।

राप्तीसोनारी–६ को गत आर्थिक वर्षको प्रगति हेर्दा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सामाजिक सुरक्षा र सेवा प्रवाहलाई एकसाथ अघि बढाउने प्रयास भएको देखिन्छ । भौतिक पूर्वाधार निर्माणसँगै नागरिकको सामाजिक तथा आर्थिक जीवनसँग जोडिएका कार्यक्रम सञ्चालन गरिएकाले वडाको समग्र विकासको आधार थप बलियो बनेको वडा कार्यालयको निष्कर्ष छ । वडाध्यक्ष खरेलले आगामी दिनमा पनि नागरिकको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर विकासका कामलाई निरन्तरता दिने बताए । वडा सचिव बर्माले विगतका योजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाह र विकास निर्माणलाई थप प्रभावकारी बनाउनेतर्फ वडा कार्यालय केन्द्रित रहने बताए ।

आ.व.२०८२/०८३ सम्पन्न योजना

– वडा कार्यालय अगाडि खुला ब्यामशाला निर्माण
– सोमेश्वर नाथ शिव मन्दिर छोटकीपुरवावा गुलरी
– बाहुनको घरदेखि ठकुरी कान्छाको घर हुँदै खल्लाटपरी चौधरीको घरसम्म बाटो ग्राभेल
– बमलहवा बाटो पिसीसी निर्माण
– जोरैया बाटोमा बाटो स्तरोन्नति
– पनेरिया गाउँमा बाटो स्तरोन्नति
– पनेरिया अधुरो बाटो पिसिसी निर्माण
– बालुवाडाडा बाटो स्तरोन्नति
– छोटकीपुरवा गुलरीचोकदेखि रामलाल थारुको घरसम्म बाटो ग्राभेल
– सरिता कुमालकोे घरदेखि सितापुनको घरसम्म जानेबाटो ग्राभेल
– ने.रा.मा.वि. गुलरी वालनिर्माण
– सिद्धेश्वर कृषक सहकारी संस्था लिमिटेड पर्खाल निर्माण

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।