सल्यान, भदौ ३१ सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण नियन्त्रणमा आउन नसक्दा स्थानीयमा त्रास बढेको छ । पछिल्लो तीन सातामै संक्रमणका कारण चारजनाको मृत्यु भएपछि गाउँपालिकाका विभिन्न बस्तीमा ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा दैनिक तीनदेखि चार जनासम्ममा स्क्रबटाइफस संक्रमण पुष्टि भइरहेको छ ।
संक्रमणका कारण दार्मा गाउँपालिका–५ लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्गा, वडा–६ मलिवाङका ८२ वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा–२ सिलिङ्गेका १२ वर्षीय नरेश ओलीको मृत्यु भएको हो । उनीहरूको दाङ र नेपालगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ । दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार भदौको दोस्रो सातादेखि संक्रमणका कारण मृत्यु हुने क्रम देखिएको हो । सुरुमा तीन जनाको मृत्यु भएको र त्यसपछि थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको उनले बताए ।
संक्रमण फैलिएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालय सल्यानसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य संस्थामार्फत किटबाट परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा अहिलेसम्म एक सयभन्दा बढी व्यक्तिमा स्क्रबटाइफस संक्रमण पुष्टि भइसकेको बस्नेतले बताए । ‘परीक्षणको क्रम जारी छ । अहिले पनि स्वास्थ्य संस्थामा दैनिक तीन–चार जनासम्ममा संक्रमण पुष्टि भइरहेको छ,’ उनले भने, ‘उपचार भइरहेको भए पनि संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको अवस्था छैन ।’
दार्माका बस्तीमा ज्वरो तथा रुघाखोकीका बिरामीसमेत बढेका छन् । स्थानीयका अनुसार घरघरमा ज्वरोका बिरामी देखिन थालेपछि सर्वसाधारणमा संक्रमण फैलिने चिन्ता बढेको छ । दार्माका स्थानीय देवीराम नेपालीलाई पनि केही दिनसम्म लगातार ज्वरो आएको थियो । सुरुमा सामान्य ज्वरो ठानेर मेडिकलबाट औषधि सेवन गरे पनि सुधार नभएपछि स्वास्थ्यकर्मीको सल्लाहमा स्क्रबटाइफस परीक्षण गराएका थिए । परीक्षणमा संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेपछि अहिले स्वास्थ्यमा सुधार आएको उनले बताए ।

स्थानीय विमला खड्गाका अनुसार गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढिरहेका छन् । सामान्य ज्वरो ठानेर घरमै औषधि सेवन गर्ने प्रवृत्तिका कारण कतिपय बिरामीले समयमै परीक्षण नगराउने गरेको स्थानीयको भनाइ छ । स्वास्थ्य शाखा प्रमुख बस्नेतले ज्वरो आउनेबित्तिकै स्वास्थ्यकर्मीको सल्लाहबिना मेडिकलबाट जथाभावी औषधि सेवन गर्ने प्रवृत्तिले जोखिम बढाउन सक्ने बताए । उनले ज्वरो आएमा रोगको कारण पहिचानका लागि स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरे ।
‘ज्वरो आयो भन्दैमा आफैं औषधि किनेर खाने गर्नु हुँदैन,’ उनले भने, ‘समयमै परीक्षण गरेर संक्रमण देखिएमा उपचार सुरु गरे जटिल अवस्था आउनबाट रोक्न सकिन्छ ।’ स्क्रबटाइफस विशेषगरी वर्षायाममा बढी देखिने गर्छ । जंगल, झाडी तथा घाँसपातमा पाइने संक्रमित किर्नोजस्तो सूक्ष्म जीवको टोकाइबाट यो रोग सर्ने भएकाले वर्षायाममा घाँस काट्ने, जंगल जाने तथा खेतीपातीमा काम गर्नेहरू बढी जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन् । दार्मामा संक्रमण बढेपछि स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको चापसमेत बढेको छ । भल्चौर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी टेकराज बोहराका अनुसार सामान्य अवस्थामा दैनिक १५ देखि २० जना बिरामी उपचारका लागि आउने गरेकामा अहिले ज्वरोका बिरामी बढेपछि दैनिक ३० जनासम्म परीक्षण तथा उपचारका लागि आउने गरेका छन् ।
उनका अनुसार ज्वरोको सामान्य औषधि सेवन गर्दा पनि सुधार नआएका बिरामीलाई प्राथमिकताका आधारमा स्क्रबटाइफसको परीक्षण गरिँदै आएको छ । परीक्षणमा संक्रमण पुष्टि भएका बिरामीलाई आवश्यक औषधि तथा उपचार उपलब्ध गराउने गरिएको उनले बताए । स्वास्थ्य कार्यालय सल्यान र गाउँपालिकाको सहकार्यमा संक्रमण प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर परीक्षण तथा उपचारलाई तीव्रता दिइएको छ । तर, संक्रमण देखिने क्रम नरोकिएपछि स्थानीय तह र स्वास्थ्यकर्मीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।
















