लुम्बिनीको औद्योगिक सम्भावनालाई व्यवहारमा उतार्न नसके प्रदेशको अर्थतन्त्र व्यापार र उपभोगमा निर्भर रहने जोखिम कायम रहनेछ । त्यसैले प्रदेशको आर्थिक विकासलाई गति दिन उद्योग विस्तार, रोजगारी सिर्जना र युवा जनशक्तिलाई स्थानीय अर्थतन्त्रमा आबद्ध गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।
नेपालगन्ज, कात्तिक १३ संघीयतापछि प्रदेश र स्थानीय तहले विकासको नेतृत्व गर्ने अपेक्षा गरिए पनि लुम्बिनी प्रदेशको आर्थिक विकासले अपेक्षित गति लिन सकेको छैन । औद्योगिक लगानीको असमान वितरण, उत्पादनमूलक उद्योगको अभाव र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा प्रदेशको अर्थतन्त्र संकुुचित हुने जोखिम बढेको छ । उद्योगधन्दाको विस्तार सुस्त हुँदा स्थानीय युवाहरू रोजगारीका लागि अन्य प्रदेश तथा विदेश पलायन भइरहेका छन् ।
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४.२ प्रतिशत छ । मुलुकको अर्थतन्त्रमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत हुँदा लुम्बिनीको हिस्सा त्यसको तुलनामा निकै कम देखिन्छ । कृषि, व्यापार, पर्यटन र औद्योगिक विकासको सम्भावना बोकेको प्रदेशले आफ्नो आर्थिक क्षमताअनुसार योगदान बढाउन नसक्नुमा लगानी, पूर्वाधार र उत्पादनमूलक क्षेत्रको विकासमा देखिएको कमजोरी प्रमुख कारणका रूपमा देखिएका छन् ।
लुम्बिनीमा नेपालगन्ज, भैरहवा, बुटवल, कोहलपुर र आसपासका क्षेत्रलाई औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । भारतसँग जोडिएका प्रमुख व्यापारिक नाका, कृषि उत्पादन, जडीबुटी तथा बजारको उपलब्धताले उद्योग स्थापनाका लागि आधार प्रदान गरे पनि कच्चा पदार्थको प्रशोधन, वस्तु उत्पादन र निर्यातमुखी उद्योगको विस्तार अपेक्षाकृत हुन सकेको छैन । नेपालगन्जका अगुवा व्यापारी ललितकुमार रौनियारका अनुसार पश्चिम नेपालमा उपलब्ध स्रोतसाधनलाई औद्योगिक उत्पादनसँग जोड्न राज्यले पर्याप्त पहल गर्न सकेको छैन । कृषि उपज र जडीबुटीलाई स्थानीय स्तरमै प्रशोधन गरी बजारमा पुर्याउने उद्योग स्थापना गर्न सके रोजगारी र आम्दानी दुवै बढाउन सकिने उनको भनाइ छ । बैंकको ब्याजदर, प्रशासनिक झन्झट र लगानीमैत्री वातावरणको अभावले नयाँ उद्योग स्थापनामा चुनौती थपेको उनले बताए ।

औद्योगिकीकरण कमजोर हुँदा त्यसको प्रत्यक्ष असर रोजगारीमा परेको छ । प्रदेशभित्र पर्याप्त अवसर नहुँदा युवा जनशक्ति काठमाडौंलगायत ठूला सहर र वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको छ । युवाको पलायनले गाउँमा कृषि श्रमिकको अभाव बढाएको छ भने स्थानीय बजारमा वस्तु तथा सेवाको माग विस्तार हुन सकेको छैन । उत्पादनशील उमेरका नागरिक बाहिरिँदा प्रदेशको दीर्घकालीन आर्थिक विकासमा समेत असर पर्ने जोखिम छ । लुम्बिनीको अर्थतन्त्रलाई बलियो बनाउन कृषि उत्पादनलाई उद्योगसँग जोड्ने, साना तथा मझौला उद्योगको क्षमता बढाउने र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति आवश्यक देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा उत्पादित खाद्यान्न, तेलहन, दलहन, फलफूल र अन्य कृषि उपजको प्रशोधन तथा बजारीकरणका लागि उद्योग स्थापना गर्न सके स्थानीय उत्पादनले उचित मूल्य पाउने र रोजगारीका अवसर सिर्जना हुनेछन् ।
त्यस्तै, नेपालगन्ज र भैरहवाजस्ता सीमावर्ती व्यापारिक केन्द्रलाई उत्पादन तथा निर्यातसँग जोड्न सके भारतीय बजारको पहुँचलाई आर्थिक लाभमा रूपान्तरण गर्न सकिन्छ । औद्योगिक क्षेत्रको पूर्वाधार सुधार, नियमित विद्युत् आपूर्ति, सहज कर्जा, दक्ष जनशक्ति उत्पादन र प्रशासनिक प्रक्रिया सरल बनाउनु पनि उत्तिकै आवश्यक छ ।
संघीयताको उद्देश्य प्रशासनिक अधिकार हस्तान्तरणमा मात्र सीमित छैन । प्रदेशको आर्थिक क्षमता विस्तार गरी नागरिकलाई आफ्नै क्षेत्रमा रोजगारी र आम्दानीको अवसर उपलब्ध गराउनु पनि यसको महत्वपूर्ण पक्ष हो । त्यसका लागि लुम्बिनीमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, औद्योगिक पूर्वाधार निर्माण गर्ने र स्थानीय स्रोतसाधनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नुपर्ने देखिन्छ । लुम्बिनीको औद्योगिक सम्भावनालाई व्यवहारमा उतार्न नसके प्रदेशको अर्थतन्त्र व्यापार र उपभोगमा निर्भर रहने जोखिम कायम रहनेछ । त्यसैले प्रदेशको आर्थिक विकासलाई गति दिन उद्योग विस्तार, रोजगारी सिर्जना र युवा जनशक्तिलाई स्थानीय अर्थतन्त्रमा आबद्ध गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न आवश्यक छ ।
















