नरैनापुर, कात्तिक २० । बाँकेको नरैनापुर गाउँपालिकामा नापी तथा मालपोतसम्बन्धी सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाले आफ्नै कार्यालयमा भूमि व्यवस्थापन शाखा स्थापना गरी जग्गा पास, कित्ताकाट र नामसारीलगायत सेवा सुरु गरेपछि स्थानीय नागरिकलाई जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
यसअघि जग्गासम्बन्धी सामान्य प्रशासनिक कामका लागि समेत जिल्ला सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र कमजोर यातायात पहुँचका कारण स्थानीयले सेवा लिन समय र पैसा खर्च गर्नुपर्ने अवस्था थियो । अब गाउँपालिकाबाटै सेवा उपलब्ध हुने भएपछि विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको भूमि व्यवस्थापन शाखाको सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नागरिकलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकामै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरिएको बताए ।
उनले जग्गा पास, कित्ताकाट र नामसारीलगायत कामका लागि अब सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य हुने जनाउँदै यसबाट नागरिकको समय र खर्च दुवै बचत हुने बताए । स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा प्रशासनिक झन्झटसमेत कम हुने उनको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभरका स्थानीय तहमा स्थापना भएका भूमि व्यवस्थापन शाखामध्ये नरैनापुर ३४औँ शाखा भएको जानकारी दिए । उनका अनुसार सेवा सञ्चालनका लागि आवश्यक संस्थागत तथा प्राविधिक व्यवस्थापन मिलाइएको छ ।
उनले आगामी दिनमा शाखाबाट प्रदान गरिने सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गरिने उनको भनाइ छ । शाखा सञ्चालनको अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षित र नरैनापुर–४ का अर्का सेवाग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको थियो ।

पहिलो सेवाग्राही दीक्षितले गाउँपालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा पाउने व्यवस्था सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसअघि यस्ता कामका लागि नेपालगञ्ज पुग्नुपर्ने अवस्थाको अन्त्य हुँदा समय र खर्च बचत हुने उनले बताए । भूमि प्रशासनसम्बन्धी सेवा गाउँपालिकामै सुरु भएपछि नरैनापुरका नागरिकलाई जग्गासम्बन्धी कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता कम हुने र स्थानीय स्तरमै सरकारी सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
















