बाँके (फत्तेपुर) । स्थानीय युवालाई खेलकुदमा जोड्दै आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा पाँचौँ वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न सामुदायिक वनसहित १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
रोयल साहारा युवा क्लबको आयोजना तथा राप्तीसोनारी–६ वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु र वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष थारुले खेलाडीलाई शान्तिपूर्ण र मर्यादित रूपमा प्रतिस्पर्धा गर्न आग्रह गरिन् । चाडपर्वको समयमा खेलकुदमार्फत मनोरञ्जन लिनुका साथै आपसी सद्भाव कायम राख्नुपर्ने उनको भनाइ थियो ।

वडाध्यक्ष खरेलले फुटबल प्रतियोगिताले युवाबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने बताए । स्वस्थ जीवनका लागि खेलकुद र शारीरिक व्यायाम आवश्यक रहेको उल्लेख गर्दै उनले युवालाई खेलकुदमा सक्रिय हुन आग्रह गरे । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भमा युवाहरूले नेतृत्वदायी भूमिका लिनुपर्ने उनको सुझाव थियो ।

क्लबका अध्यक्ष राम खरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य लक्ष्मी चौधरी, सरस्वती माध्यमिक विद्यालय पनेरियाका प्रधानाध्यापक तथा क्लबका सल्लाहकार महारुप जैसीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सरिता बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राप्तीसोनारी–६ भित्रका विभिन्न सामुदायिक वनसहित १० टोली सहभागी छन् ।
















