काठमाडौं, कात्तिक ३० । नेपाली कांग्रेसको देउवा समूहले सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समूहले लुम्बिनी प्रदेशको अधिवेशन ७ मंसिरमा गर्ने निर्णय गरेको छ ।
दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माका अनुसार पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश अधिवेशन हुनेछ ।
निर्धारित कार्यतालिकाअनुसार ५ मंसिरमा गण्डकी, ७ मंसिरमा लुम्बिनी, १३ मंसिरमा कर्णाली, १४ मंसिरमा मधेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोसी र १९ मंसिरमा बागमती प्रदेशको अधिवेशन हुनेछ । सबै प्रदेश अधिवेशनमा देउवा सहभागी हुने बताइएको छ ।
देउवा समूहले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ स्थानीय तहबाट प्रतिनिधि, ३०० जना मनोनीत, भ्रातृ संस्थाबाट २०० र जनसम्पर्क समितिबाट २०० प्रतिनिधिसहित पालिका प्रमुख तथा अन्य प्रतिनिधिको सहभागिता रहने वर्माले बताए ।

देउवा समूहले गत असोज १५ गतेदेखि महाधिवेशनका कार्यक्रम सुरु गरेको थियो । समूहका अनुसार हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेका छन् ।

















