कोहलपुर, कात्तिक २७ , कोहलपुर नगरपालिका–२ जनएकता सामुदायिक वनमा गत कात्तिक १४ गते भएको एक घटनामा बाघको आक्रमणका कारण मृत्यु भएको भनिएका मोहन थारुको मृत्यु बाघको आक्रमणबाट नभई गम्भीर चोटपटकका कारण भएको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पोष्टमार्टम रिपोर्टले मृतक थारुको शरीरमा कुनै बाहिरी चोटपटक वा बाघले आक्रमण गरेको संकेत नदेखिएको उल्लेख गरेको छ । रिपोर्ट अनुसार उनको शरीरमा भित्री चोटका कारण मृत्यु भएको र शरीरको करङ (रिब्स) भाँचिएको पाइएको छ । उक्त रिपोर्ट अनुसार मृतक थारुको छाती र पेटमा चोट छ । बाँया करङ पाँचवटा भाँचिएका छन् । चोटपटकबाटै मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । पोष्टमार्टममा संलग्न एक चिकित्सकले नाम नबताउने सर्तमा भने, ‘उक्त शवमा बाघले आक्रमण गरेको कुनै लक्षण छैन । शरीरमा गहिरो चोटका कारण मृत्यु भएको देखिन्छ ।’ उक्त पोष्टमार्टम रिपोर्ट भने प्रहरीले लिएको छैन । ईलाका प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी चक्रडम्बर पालका अनुसार यस विषयमा अनुसन्धान जारी छ । ‘व्यस्तताका कारण पोष्टमार्टम रिपोर्ट ल्याएका छैनौं,’ उनले भने, ‘डाक्टरसँग समन्वय भइरहेको छ ।’
कात्तिक १४ गते शुक्रबार बेलुका करिब ४ बजेतिर मोहन थारु तीनजनासहित जनएकता सामुदायिक वनमा घाँस काट्न गएका थिए । त्यसक्रममा उनी हराएका थिए भने पछि वन नजिकको घाँसे क्षेत्रमा उनको शव फेला परेको थियो । घटनापछि स्थानीयवासीले बाघले लखेटेर मारेको भन्दै जानकारी दिएका थिए ।
तर बाँके राष्ट्रिय निकुञ्जका सहायक वाडेन मन्दिप पंगेनीले घटनास्थलको निरीक्षणपछि बाघको आक्रमण भएको कुनै प्रमाण नभएको बताएका थिए । उनका अनुसार घटनास्थल वरिपरि बाघको पाइला, ल्वाटो, कोतारिएको घाँस वा अन्य कुनै जनावरको उपस्थितिको संकेत भेटिएको थिएन । ‘बाघले आक्रमण गरेको भए त्यस क्षेत्र वरपर स्पष्ट चिन्ह देखिन्थ्यो, तर यहाँ त्यस्तो केही थिएन,’ उनले भनेका थिए ।
थारुसँगै घाँस काट्न गएका अन्य भने बाघले लखेटेको भन्दै ज्यान जोगाएर घर फर्किएको दाबी गरेका छन् । तर उनीहरूको भनाइ र पोष्टमार्टम रिपोर्टबीच फरक देखिएको छ । मृतकका आफन्तहरूले घटनाबारे शंका व्यक्त गर्दै प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीका अनुसार घटनाको सत्यता पत्ता लगाउन थप अनुसन्धान अघि बढाइएको छ । बाँके जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले घटनास्थल पुनः निरीक्षण गरी साक्षीका बयान संकलन भइरहेको बताएका छन् ।
जनएकता सामुदायिक वन क्षेत्र बाघ, चितुवा र अन्य वन्यजन्तुको आवागमन हुने क्षेत्र भए पनि पछिल्लो समय त्यहाँ बाघको उपस्थितिको कुनै नयाँ रिपोर्ट प्राप्त भएको छैन । अहिले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी छ ।









