केही वर्षअघिसम्म बजार अभाव, ढुवानी कठिनाइ र लगानी जोखिमका कारण रैथाने बाली खेती घट्दो अवस्थामा थियो । तर अहिले व्यापारीको पहुँच र किसानको बढ्दो आत्मविश्वासले सोरु गाउँपालिकामा रैथाने बाली खेतीप्रति आकर्षण बढेको गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।
कोहलपुर, मंसिर २२ मुगुको सोरु गाउँपालिकाबाट यो वर्ष ६५ टन रैथाने बाली बाहिरी बजारमा निर्यात गरिएको छ । सीमित सुविधा र कठिन भौगोलिक अवस्थाबीच परम्परागत रूपमा खेती गर्दै आएका स्थानीय किसानका घरमै पुगेर व्यापारीहरूले सिमी, चिनो, कागुनो, लट्टे, कोदोलगायतका बाली संकलन गरिरहेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुगुले आर्थिक वर्ष ०८२/८३ मा स्वीकृत कार्यक्रमअनुसार मुगु–नेपालगन्ज ढुवानीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यही अनुदानका कारण व्यापारीहरू गाउँ–गाउँ पुगेर किसानको उत्पादन खरिद गर्न सक्षम भएका हुन् ।
सोरु गाउँपालिका–१ का किसान नन्दबहादुर शाहीका अनुसार पहिले बजार अभाव र ढुवानी समस्याका कारण उत्पादन घरमै थन्क्याउनुपर्ने बाध्यता थियो । तर सडक विस्तारसँगै व्यापारीहरू घरमै आएर खरिद गर्न थालेपछि किसानमा रैथाने बाली उत्पादनप्रति उत्साह बढेको छ । सोही वडाकी किसान नन्दादेवी शाहीले यस वर्ष गाउँमै सिमी, चिनो, कागुनो, लट्टे र कोदो व्यापारीहरूले सिधै आएर खरिद गरेको बताइन् ।
स्थानीय व्यापारी टोपबहादुर शाहीका अनुसार ढुवानीमा ५० प्रतिशत अनुदान पाएपछि व्यापारीका लागि दुर्गम गाउँमा पुगेर खरिद गर्नु सजिलो भएको छ । ‘यसले किसानलाई राहत दियो, र हाम्रो व्यवसाय पनि दिगो बन्दै गएको छ,’ उनले भने । उनका अनुसार मुगुको रैथाने सिमी, कोदो, चिनो, कागुनो, लट्टेजस्ता अन्नबालीको माग देशका धेरै सहरमा तीव्र रूपमा बढिरहेको छ । यहाँ उत्पादन हुने बालीमा रासायनिक मलको प्रयोग न्यून हुने भएकाले स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइमा परेको उनको भनाइ छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुगुका कार्यालय प्रमुख तेजविक्रम मल्लका अनुसार रैथाने बाली केवल उत्पादन मात्र नभई स्थानीय जैविक सम्पदा पनि हो । किसानका घरमै गएर खरिद हुने क्रम बढेसँगै यसको संरक्षण र प्रवद्र्धन सहज बनेको उनले बताए । कार्यालयका अनुसार प्रतिकेजी ६ रुपैयाँका दरले उपलब्ध गराइएको ढुवानी अनुदानले उत्पादन, संकलन र बजार विस्तारमा महŒवपूर्ण प्रभाव पारेको छ । आगामी वर्ष अझ धेरै किसानलाई समेटेर उत्पादन क्षेत्र विस्तार गर्ने योजना रहेको मल्लले बताए ।
केही वर्षअघिसम्म बजार अभाव, ढुवानी कठिनाइ र लगानी जोखिमका कारण रैथाने बाली खेती घट्दो अवस्थामा थियो । तर अहिले व्यापारीको पहुँच र किसानको बढ्दो आत्मविश्वासले सोरु गाउँपालिकामा रैथाने बाली खेतीप्रति आकर्षण बढेको गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।
गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार सोरु गाउँपालिकामा उत्पादन हुने रैथाने बाली स्वाद, गुणस्तर र पौष्टिकतामा उत्कृष्ट मानिन्छ । ‘यदि ब्रान्डिङ, प्याकेजिङ र नियमित बजार वितरण व्यवस्था विकसित गर्न सकियो भने किसानले वार्षिक करोडौं रुपैयाँ बराबरको व्यापार गर्न सक्छन्,’ उनले बताए । उनका अनुसार ६५ टन निर्यात आँकडा ठूलो नदेखिए पनि यसले किसानको मनमा स्थायी व्यापारिक सम्भावनाको नयाँ आशा रोपेको छ ।














