जुम्ला, मंसिर २९ जुम्लामा रैथाने अर्गानिक उत्पादनको बजारीकरणमा जोड दिन कृषि जैविक विविधता र खाद्य परिकार प्रर्दशनी मेला आयोजना गरिएको छ । रैथाले उत्पादन वृद्वि, उपभोग, बजारीकरण तथा किसानलाई उत्साहित गर्न रैथाने खाद्य परिकार प्रर्दशनी मेला सञ्चालन गरिएको हो ।

मेलामा चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकाका किसानले आफ्नो उत्पादन तथा परिकार प्रर्दशनीमा राखेका थिए । चनदननाथ नगरपालिका, विश्व खाध कार्यक्रम, कृषि विकास कार्यालयको आयोजनामा मेला सञ्चालन भएको हो । रैथानेबाली बेचेर बजारमा पाइने अखाद्य वस्तु खाने प्रवृत्तिको अन्त्य गर्नसमेत निरन्तर यस्ता मेला आयोजना गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकार र यसको महत्त्वका विषयमा उजागार गर्न तथा बजारको वस्तु प्रयोगमा रोक लगाउन, खाद्य परिकार प्रदर्शनी मेलाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । २०६४ सालमा १४औं जिल्ला परिषदबाट नेपालकै पहिलो प्रांगारिक जिल्ला घोषणापछि जुम्लाको उत्पादनले बजार पाउन थालेको छ ।
पछिल्लो समय गाउँ गाउँमा सडक विस्तार हुनु, बढ्दो युवा पलानयलगायतका कारण जग्गा बाझिँदै गएपछि उत्पादन क्रमिक रुपमा गिरावट आएको छ । प्रमुख आर्चायले भने,‘परिकार प्रर्दशनी मेलाले किसानलाई उत्साह थपिएको छ । उत्पादन वृद्धि गर्ने कृषि केन्द्रित कार्यक्रम ल्याउन आबश्यक छ ।’ चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले उत्पादन वृद्धिसँगै रैथाने बालीका परिकारको बनाउने र उपभोग गर्ने बानी बसाल्न मेला महŒवपूर्ण रहेको बताए । प्रदर्शनी मेलामा १२ वटा स्टलमा स्थानीय बालीका बीऊ र खानाका परिकार राखिएको छ ।









