बाँके, पुस ७ सरकारले किसानका लागि उपलब्ध गराएको अनुदानको मल अवैधरूपमा भण्डारण गरी कालोबजारी गर्ने धन्दामा संलग्न एक व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका– १०, पचेहरास्थित मनोज किराना पसलमा लुकाइछिपाई राखिएको १०२ बोरा अनुदानको मलसहित पसल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ।

अवैध मल भण्डारण गरिएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षक सुवास खतिवडाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले छापा मारेको थियो । १ लाख ३६ हजार चार सय रुपैयाँ मूल्यको ६२ बोरा डिएपी र ३० हजार दुई सय मूल्यको ४० बोरा युरिया गरी कुल एक लाख ६६ हजार ६ सय रुपैयाँको मलसहित सञ्चालक गोरखनाथ बनियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय कपिलवस्तु जिल्लामा अनुदानको मल अभाव सिर्जना गराई कालोबजारी र अवैध भण्डारणका घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा पारेको थियो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले भने, ‘किसानलाई सहुलियतमा उपलब्ध गराइने अनुदानको मल लुकाएर राख्नु गम्भीर अपराध हो, यस्ता कार्यले कृषक मारमा पर्छन् । नियन्त्रणमा लिइएका व्यक्ति र बरामद मललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।’
कपिलवस्तु प्रहरीका अनुसार अनुदानको मलको अवैध कारोबारमा संलग्न जो–कोहीलाई नछोड्ने चेतावनी दिँदै सर्वसाधारणलाई पनि यस्ता गतिविधिको सूचना दिन आग्रह गरेको छ । उक्त अनुदानको मल अर्घाखाँचीको मालारानी गाउँपालिका– ६ स्थित किसान कृषि सहकारी संस्था लिमिटेडले बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।









