२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

कर्णालीमा मनाइयो छोरा तिहार

यो पर्वमा आमाले छोरालाई निधारमा अक्षता र घाटीमा फूलको माला लगाइदिएर सगुनको रुपमा घरमै बनाइएका सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकार खान दिने चलन छ ।

 

कर्णाली, पुस ७ कर्णाली प्रदेशका जुम्ला, डोल्पालगायतका जिल्लामा आइतबार छोरा तिहार मनाइएको छ । भाइटीका सकिएको दुई महिनापछि पौष शुक्ल प्रतिपदाका दिन यहाँ छोरा तिहार मनाउने चलन छ । यो पर्वमा बिहानै नुहाईधुवाई गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ ।

छोरा तिहारमा आमाले छोरालाई निधारमा अक्षता र घाटीमा फूलको माला लगाइदिएर सगुनको रुपमा घरमै बनाइएका सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकार खान दिने चलन छ । टीका लगाइसके पछि छोरालाई सुख, शान्ति, दीर्घायू र प्रगतिको कामना गर्दै आर्शिवाद समेत दिने गरिन्छ । टीका लगाएपछि छोराले दक्षिणाको रुपमा सक्दो पैसा, लुगाकपडालगायत कोसेली दिएर गोडामा ढोगेर आर्शिवाद लिने गर्छन् ।

यो पर्वमा आमाको हातबाट टीका थाप्नका लागि जिल्लाबाहिर पुगेका छोराहरु पनि घर पुग्ने गर्छन् । काम विशेषले घर पुग्न नसक्ने छोराहरु पछिल्लो समय फोन, भिडियो कलबाट आशिर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्यायर राखिदिने गर्छन् ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसके पछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाईटीकामा देउँसी जस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा,बाटोलगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट पाठीभात (वनभोज) जाने गरिन्छ ।

यस दिनमा महिलाहरु सार्वजानिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र पीरव्यथा साटासाट गर्ने गर्छन् । छोरा तिहार डोल्पालगायत कर्णालीका केही जिल्लामा मात्रै मनाइने गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ का रमानन्द उपाध्यायले बताए । शताब्दीयौंदेखि मनाइँदै आएको यो पर्वको रौनक पहिलाको जस्तो नभएको उनले बताए । ‘पहिला धेरैजसो मान्छे गाउँमै हुन्थे । रौनक पनि त्यतिकै हुन्थ्यो, अहिले धेरैजसो सहरबजारतिर छन्, कतिपय रोजगारीको सिलसिलामा जिल्ला बाहिर छन्, त्यहीँ भएर पनि अचेल रौनक छैन्,’ उपाध्यायले भने । इतिहास बोकेका यस्ता चाडपर्वमा नयाँ पुस्ताको चासो कम हुँदा लोप हुन थालेको उनले बताए ।

भाईतिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई यहाँ भैलो भन्ने गरिन्छ । यहाँ देउसी फरक तरिका र लयमा खेलिने गरिन्छ । भैलो खेलेर उठेको चामल, धान, पैसा खेल्न गएकाहरु मिलेर वनभोज खाने प्रचलन रहेको समेत उनले बताए ।

छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर मनाउने गर्छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।