मौसमले रोकेको उडानले बाँकेको कांग्रेसलाई एउटा गम्भीर राजनीतिक वास्तविकता देखाइदियो । बेवाास्ता गरिएको व्यक्तिको सहाराले नै अन्ततः पार्टीको प्रतिष्ठा जोगियो । यो केवल संयोग होइन, संकेत हो । भविष्यमा यस्तो अपमानजनक परिस्थिति नदोहरियोस् भने बाँके कांग्रेसले आत्ममन्थन गर्नैपर्छ । अन्यथा, ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तो मानसिकता फेरि दोहोरिरहनुपर्ला, यसको घाटा भने अन्ततः पार्टीलाई नै हुनेछ ।’

नेपालगन्ज, पुस ११
‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ भन्ने नेपाली समाजको उखान केवल घरायसी व्यवहारमा सीमित रहेन, नेपाली राजनीतिमा पनि ज्यूँका त्यूँ लागू भएको देखिन्छ । बाँकेको नेपाली कांग्रेसले आयोजना गरेको ‘सुशील कोइराला स्मृति भवन’ उद्घाटन कार्यक्रम यसै उखानको ज्वलन्त उदाहरण बन्यो । पार्टीभित्रको गुटबन्दी, प्राथमिकताको हिसाब, व्यक्तिप्रतिको सम्मान र बेवास्ताको शैलीले कसरी आफैँलाई संकटमा पार्छ भन्ने सन्देश पनि यही घटनाले दिएको छ । र, अन्ततः परिस्थिति त्यहीँ मोडियो, जहाँ पूर्वाग्रहले पाखा लगाइएका नेताकै सहारा लिनुपर्ने बाध्यता सिर्जना भयो ।
जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुगेका सहमहामन्त्री किशोरसिंह राठौरलाई बेवास्ता गर्दै उद्घाटन कार्यक्रमको सम्पूर्ण जिम्मेवारी कार्यबहाक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापामार्फत गर्ने तयारी गरिएको थियो । सहमहामन्त्री राठौरलाई सामान्य अतिथिका रुपमा मात्र बोलावट थियो । जसले राठौरको भूमिका शून्यजस्तै बनाइयो, मानौँ उनी बाँकेका होइनन्, मानौँ उनी पार्टी संगठनका स्वाभाविक प्रतिनिधि होइनन् । राजनीतिक सभ्यताभित्र यस्ता असमान व्यवहारले केवल व्यक्तिलाई मात्र होइन, संस्थालाई नै कमजोर बनाउँछ भन्ने यथार्थ यहाँ बेवास्ता गरियो ।
तर, प्रकृतिले पनि यो बेवास्तालाई चित्त बुझाएन जस्तो भयो । शीतलहर, बाक्लो कुहिरो र मौसमको प्रतिकूलताका कारण नेपालगन्जको आकाश खुल्न सकेन । विमानस्थलमा उडान हुन नसक्दा कार्यक्रमका मुख्य पाहुनाका रूपमा तय गरिएका खड्का र थापा नेपालगन्ज आउनै सकेनन् । यही बाध्यताले कांग्रेस बाँकेको नेतृत्व फेरि त्यही ठाउँमा आइपुग्यो, जहाँ सुरुमा नै उभिनुपर्ने थियो, ‘आफ्नै क्षेत्रबाट निर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरको ढोकामा ।’ जसलाई कार्यक्रमको केन्द्रबाट टाढा राखिएको थियो, अन्ततः उनी नै केन्द्रीय पात्र बन्न पुगे । यही हो नेपाली राजनीतिमा देखिने विडम्बना, ‘जसलाई बेवास्ता गरिन्छ, अन्ततः उहीँले लाज ढाक्नुपर्ने परिस्थिति आइपर्छ ।’
राठौरलाई कार्यक्रमको मूल भूमिकाबाट टाढा राख्नु राजनीतिक असमानताको मात्र प्रश्न होइन, संस्थागत संस्कारको पनि मुद्दा हो । पार्टीभित्र सम्मानको आधार पद मात्र होइन, योगदान, जिम्मेवारी र प्रतिनिधित्व पनि हो । बाँके कांग्रेसलाई थाहा हुनुपर्थ्यो, ‘कांग्रेस केन्द्रीय सहमहामन्त्री केवल काठमाडौंका नेता होइनन्, उनी बाँकेकै राजनीतिक पहिचान पनि हुन् ।’ तर, यो बोध नहुँदा उनी बेवास्तामा परे, अनि परिस्थिति प्रतिकूल बन्दै जाँदा अन्ततः उनीमाथिनै भर पर्नुपर्यो । यसबाट एउटा स्पष्ट सन्देश निस्कन्छ, ‘राजनीतिमा व्यक्तिप्रतिको विभेद र आन्तरिक हेयभाव दीर्घकालीनरूपमा कहिल्यै राम्रो फल दिन्न ।’
यसअघि पनि बाँके कांग्रेसले आफ्नै जिल्लाबाट केन्द्रीय राजनीति गरेका नेतासँग सौहार्दपूर्ण र सम्मानजनक व्यवहार गर्न नसकेको इतिहास छ । सुशील कोइरालाजस्तो व्यक्तित्वलाई समेत पार्टीका आन्तरिक हिसाब–किताब र भावनात्मक उदासीनताले दुखाइरह्यो भन्ने स्मृतिहरू आज पनि बाँकेको राजनीतिक वृत्तमा ताजा छन् । सुशील कोइरालाकै नाममा बनेको तीनतले स्मृति भवन उद्घाटन कार्यक्रममै सम्मानको संस्कार व्यवहारमै लागू हुन नसक्नु विडम्बनापूर्ण मात्र होइन, नैतिकरूपमा पनि प्रश्न उठाउने विषय हो ।

यो घटना केवल एउटा कार्यक्रम अवरुद्ध हुनु र अर्को व्यक्तिले उद्घाटन गर्नुको सामान्य प्रसंग मात्र होइन । यो कांग्रेस बाँकेभित्रको मनोवृत्ति, संस्कार, आन्तरिक सम्बन्धको स्वरूप र नेतृत्वले अपनाउने व्यवहारिक शैलीको दर्पण हो । जब पार्टीभित्रै आ–आफ्ना सर्कल, अफिनिटी र पक्षधरता प्रभावशाली बन्छन्, संस्थागत अनुशासन र सहकार्य कमजोर पर्छ । मानिसको सम्मानभन्दा आफूले रोजेको शक्ति र समीकरणलाई प्राथमिकता दिइन्छ । यही प्रवृत्तिले अन्ततः पार्टीगत स्वास्थ्य कमजोर पार्छ, जनतामाझ सन्देश नकरात्मकरूपमै पुग्छ ।
यस घटनाले अर्को महŒवपूर्ण पाठ पनि दियो, ‘राजनीतिमा ‘जरूरत परेको बेलामात्र’ व्यक्तिलाई सम्झिने प्रवृत्ति अनुचित मात्र होइन, अस्थायी पनि हुन्छ ।’ पार्टीभित्र रहेका जिम्मेवार व्यक्तिहरूलाई निरन्तर सम्मान र भूमिकासहित अघि बढाउने संस्कार विकास गर्न सकियो भने यस्तो असहज परिस्थिति नै आउँदैन । बाँके कांग्रेसले यस घटनाबाट सिक्न जरुरी छ, ‘पद र गुटभन्दा माथि उठेर संस्थागत गौरव, आपसी सम्मान र नेतृत्वको नैतिक जिम्मेवारी कायम गर्ने संस्कार आवश्यक छ ।’
अन्ततः मौसमले रोकेको उडानले बाँकेको कांग्रेसलाई एउटा गम्भीर राजनीतिक वास्तविकता देखाइदियो । बेवाास्ता गरिएको व्यक्तिको सहाराले नै अन्ततः पार्टीको प्रतिष्ठा जोगियो । यो केवल संयोग होइन, संकेत हो । भविष्यमा यस्तो अपमानजनक परिस्थिति नदोहरियोस् भने बाँके कांग्रेसले आत्ममन्थन गर्नैपर्छ । अन्यथा, ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तो मानसिकता फेरि दोहोरिरहनुपर्ला, यसको घाटा भने अन्ततः पार्टीलाई नै हुनेछ ।’








