२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

‘साइबर’ प्रेमः मित्रता वा मानव बेचबिखनको जालो ?

भारत पुगेपछि मात्रै उनलाई आफ्नो बेचबिखन हुँदैछ भन्ने कुरा थाहा भयो, जब एउटा अँध्यारो कोठाको ढोका बन्द भयो । चिच्याइन्, रुन थालिन्, तर उनको आवाज सुन्ने कोही थिएन । सँगै जिउने–मर्ने कसम खाने मान्छे हराए । अन्ततः माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा सिम्लाबाट उनको उद्धार भयो । आज उनी स्वतन्त्र छन्, तर आँखाभित्र अझै त्यहीँ अँध्यारो कोठाको छायाँ बाँकी छ ।
 
नेपालगन्ज, पुस १७  कोहलपुरकी १८ वर्षीया युवतीको जीवनमा टिकटक खेलजस्तै थियो । आफ्नै उमेरका सपना, आफ्नै हाँसो—तर एक दिन स्क्रिनको कुनाबाट आएको एउटा फ्रेन्ड रीक्वेस्टले उनको जीवनको दिशा नै बदलिदियो । सुरुमा वास्ता नगरेकी उनी केही दिनमै सोही ‘हेलो’ बाट सुरु भएको संवादमा बाँधिँदै गइन् । शब्द भावनामा बदलिए, भावना विश्वासमा, र त्यो विश्वास जीवनकै ठूलो शपथमा ।
 
नेपालगन्जका ती युवकमाथि उनले पूर्ण भरोसा गरिन् । विवाहदेखि बुढेसकालसमेत सँगै बिताउने वाचा उनका लागि पूजाजस्तै थिए । उनले आफ्नो तन मात्र होइन, आत्मासम्म सुम्पिइन् । तर प्रेमकै नाममा उनीमाथि भारत जान दबाब सिर्जना गरियो । प्रेम अन्धो हुन्छ भन्ने भनाइ त्यहीँ यथार्थ बन्यो । भारत पुगेपछि मात्रै उनलाई आफ्नो बेचबिखन हुँदैछ भन्ने कुरा थाहा भयो, जब एउटा अँध्यारो कोठाको ढोका बन्द भयो । चिच्याइन्, रुन थालिन्, तर उनको आवाज सुन्ने कोही थिएन । सँगै जिउने–मर्ने कसम खाने मान्छे हराए । अन्ततः माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा सिम्लाबाट उनको उद्धार भयो । आज उनी स्वतन्त्र छन्, तर आँखाभित्र अझै त्यहीँ अँध्यारो कोठाको छायाँ बाँकी छ ।
 
यस्तै पीडा खजुराकी २० वर्षीया युवतीले पनि भोगिन् । फेसबुक स्क्रोल गर्दै गर्दा उनको जीवनमा आएको एउटा नयाँ आईडीले प्रेमको जाल बुनेको थियो । दैलेखका ती युवकका शब्दले उनलाई ‘रानी’ बनाउने सपना देखाए । प्रेम गहिरिँदै गयो । विवाहका वाचा, उपहार र आश्वासनले विश्वास बलियो बनाउँदै लग्यो । अन्ततः भारत घुम्न जाने प्रस्ताव आयो । उनले त्यो यात्रालाई सपनाको यात्रा ठानिन्, तर त्यो त जीवन तोड्ने यात्रा रह्यो । एकान्त कोठामा छाडेर गएको युवक फर्किएन । त्यसपछि सुरु भयो बलजफ्ती, शोषण र नरक जस्तै दिनरात । अन्ततः माइती नेपालको पहलमा उनको समेत उद्धार भयो । तर उद्धारपछि पनि स्मृतिको जेलभित्र उनीहरु अझै कैद छन्।
 
यी घटनाहरू प्रतिनिधिमूलक मात्र हुन् । सामाजिक सञ्जाल आज सूचना, अवसर र मित्रताको सशक्त माध्यम बने पनि यही माध्यम मानव बेचबिखनको सजिलो मार्ग बन्दै गएको गम्भीर तथ्य यी घटनाले देखाएका छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट सुरु हुने सामान्य चिनजान कसरी मानव बेचबिखनको जालोमा परिणत हुन्छ भन्ने यथार्थ खुलेर देखिएको छ ।
 
माइती नेपालले पछिल्लो एक वर्षमा भारतका विभिन्न सहरबाट १४ नेपाली महिलाको उद्धार गरी सुरक्षितरूपमा परिवारको जिम्मा लगाएको जनाएको छ । माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाका अनुसार उद्धार भएकामध्ये बाँकेका मात्र तीन जना छन्, कोहलपुर, खजुरा र डुडुवाबाट एक–एक जना । त्यस्तै बर्दियाका तीन जना तथा सुर्खेत, डोल्पा, दैलेख, सल्यान, कञ्चनपुर र रुकुमबाट एक–एक जना रहेका छन् ।
 
उद्धार गरिएका सबैको कथामा एउटै साझा सूत्र भेटिन्छ—सामाजिक सञ्जालबाट सुरु भएको चिनजान र आकर्षक भविष्यको लोभ । दलालहरूले रोजगारी, विवाह, विलासी जीवनशैली र विदेश घुमाउने प्रलोभन देखाएर विश्वास जित्ने गरेको कोइरालाको भनाइ छ । ‘सुरुमा मोबाइल र सामाजिक सञ्जालमै सम्बन्ध गाढा बनाइन्छ, त्यसपछि सीमावर्ती नाकाबाट भारत पुर्याइन्छ,’ उनी भन्छन्, ‘त्यहाँ पुगेपछि कतिपयलाई जबरजस्ती राखिन्छ भने कतिपयलाई तेस्रो मुलुक लैजाने बहानामा बेचबिखन गरिन्छ ।’
 
धेरैजसो पीडितलाई आफू बेचबिखनको सिकार हुँदैछु भन्ने ढिलो थाहा हुन्छ, तबसम्म उनीहरू अपरिचित सहर, भाषा र मानिसको नियन्त्रणमा पुगिसकेका हुन्छन् । पछिल्लो समय सम्भ्रान्त परिवारका महिलासमेत बेचबिखनको जोखिममा परेको तथ्य प्रस्तुत गर्दै कोइरालाले प्रविधिको सहज पहुँच, बढ्दो विलासिता र वैवाहिक असन्तुष्टिलगायत कारण देखाए । उनका अनुसार सचेतना, पारिवारिक निगरानी, राज्यको प्रभावकारी अनुगमन र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबिनादेखि यस्ता घटना दोहोरिरहने छन् ।
जमुनाह नाकाबाट ५९३ जनाको उद्धार
 
माइती नेपाल नेपालगन्जले जमुनाह नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्धार गरेको जनाएको छ । नेपालगञ्जमा बुधवार सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा भारतका विभिन्न शहरमा श्रम तथा यौन शोषणमा परेका १४ महिला तथा बालबालिकाको उद्धार गरिएको जानकारी दिइयो । खोजतलासका लागि परेको ९२० उजुरीमध्ये ५९३ जना फेला पारिएका छन् भने ३२७ जनाको अवस्था अझै अज्ञात छ ।
 
उद्धार भएकामध्ये बाँकेका ८७ जना, खजुरा गाउँपालिकाका १३, राप्ती सोनारीका १६, वैजनाथका २३, कोहलपुर नगरपालिकाका १९, नेपालगञ्ज उपमहानगरपालिकाका १२, डुडुवाका २ र नरैनापुर र जानकीका १–१ जना रहेका छन् ।
 
माइती नेपालले सीमा क्षेत्रमा मानव बेचबिखन नियन्त्रण, हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षण, कानुनी सहयोग र पुनर्स्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचबिखनविरुद्ध ‘रिएक्टिभ’ भन्दा ‘प्रोएक्टिभ’ बन्नुपर्नेमा जोड दिँदै मिडियाले सचेतना र नीतिगत सुधारका लागि गम्भीर रिपोर्टिङ गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रम सञ्चालन महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।