नेपालगन्ज, पुस १८ कृषि ज्ञान केन्द्रले कृषकहरुलाई कृषि मेसिनरी, औजार तथा उपकरणको मर्मतसम्भारसम्बन्धी तालिम दिएको छ । वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत रहेको यन्त्र मर्मत तथा सम्भार कार्यशालाबाट उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा खेती किसानीमा प्रयोग हुने ट्र्याक्टर, थ्रेसर, मिनी–टिलर, सिंचाइ पम्प, स्प्रे मेशिन लगायतका उपकरणको नियमित हेरचाह, खराबी पहिचान तथा मर्मत गर्ने तरिका बारे सैद्धान्तिक र व्यवहारिक कक्षा सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

तालिममा ३९ जना कृषकहरु सहभागी थिए । सहभागीहरुलाई कृषि कार्यलाई सहज, श्रम बचत तथा उत्पादन वृद्धि गर्न आधुनिक उपकरणको प्रभावकारी प्रयोग र समयमै मर्मतसम्भार गर्दा दीर्घकालीन रुपमा उपकरण टिकाउ हुने विषयमा प्रशिक्षकहरुले विस्तृत जानकारी प्रदान गरेका थिए । व्यवहारिक अभ्यासका क्रममा सहभागिहरुले उपकरण खोलेर हेर्ने, साना–ठूला ‘फाल्ट’ पहिचान गर्ने, आवश्यक पार्टस परिवर्तन गर्ने तथा नियमित जाँच र सरसफाइ गर्ने अभ्याससमेत गरेका थिए ।
निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा कृषक स्वयम् मेसिनरीको प्राथमिक मर्मतसम्भार गर्न सक्षम हुनु महत्वपूर्ण भएको बताए । उनले तालिमले कृषकलाई आत्मनिर्भर बनाउने र मामुली गडबडीका कारण कृषि कार्य प्रभावित हुने अवस्था घटाउने विश्वास व्यक्त गरे । सिंहका अनुसार यस्ता कार्यक्रमले कृषकको लागत घटाउने, उत्पादकत्व बढाउने र कृषिमा प्रविधिको प्रयोगलाई दिगो बनाउन सहयोग पुगेको छ ।
उनीले आगामी दिनमा पनि आवश्यकताअनुसार थप समूहलाई लक्षित गरी यस्ता तालिम निरन्तर सञ्चालन गर्ने योजनाबारे जानकारी गराए । सहभागी कृषकहरुले तालिम उपयोगी र व्यावहारिक रहेको भन्दै कृषि उपकरणको संरक्षण तथा मर्मतसम्भारमा अब सहज भएको प्रतिक्रिया दिएका छन् ।









