बाँके, पुस १८ बढैयाताल गाउँपालिका–३ कण्ठपुरस्थित विद्याज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले एक विशेष समारोहका बीच उद्घाटन गरेका छन् । स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले राष्ट्र निर्माणमा पुर्याउँदै आएको योगदान महŒवपूर्ण रहेको बताए ।
उनका अनुसार देशभरका सामुदायिक विद्यालयहरूलाई सबल र परिणाममुखी बनाउन सरकार लागिपरेको छ । ‘समाज परिवर्तनको आधार शिक्षा हो । शिक्षामा रूपान्तरण ल्याउन सकिएन भने विकासको गति तीव्र हुन सक्दैन,’ मन्त्री तिमिल्सिनाले भने, ‘गाउँगाउँका सामुदायिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू नै आजका प्रशासन, राजनीति, व्यापार र विभिन्न क्षेत्रका अगुवा बनेका छन् ।

त्यसैले विद्यालयलाई अझ सुदृढ बनाउन सरकारले आवश्यक सहयोग गर्दै जानेछ ।’ उनले विद्यालयको भौतिक संरचना, दक्ष शिक्षक, आधुनिक प्राविधिक शिक्षा र गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत साथ र सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व, विद्यालय परिवार, पूर्वविद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वर्ण महोत्सवले विद्यालयको गौरवमय यात्रा स्मरणसँगै आगामी दिनमा अझ सक्षम शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापकले पाँच दशकको यात्रामा विद्यालयले स्थानीय समुदायका हजारौं विद्यार्थीलाई आधारभूतदेखि माध्यमिक तहसम्म शिक्षा प्रदान गर्दै आएको जानकारी दिए । उनले विशेष गरी पछिल्ला वर्षमा शैक्षिक सुधार, परीक्षा परिणाम, भौतिक पूर्वाधार विकास र सूचना प्रविधिमैत्री सिकाइ प्रवद्र्धनमा विद्यालय अगाडि बढिरहेको बताए ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयको इतिहास, उपलब्धि प्रस्तुतिकरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमसमेत राखिएको थियो । कार्यक्रमले विद्यालयप्रति समुदायको सरोकार, गर्व र जिम्मेवारी झनै बलियो बनाउने सहभागीहरूको धारणा रहेको थियो ।









