डोल्पा, पुस २१ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित इलाका प्रहरी कार्यालय करबगार्डमा स्थानीयले तोडफोडसँगै प्रहरीमाथि हातपात गरेका छन् । करिब एक सयदेखि एक सय ५० जनाको समूह प्रवेश गरेका स्थानीयको कुटाइबाट प्रहरी हवल्दार उमाकान्त पन्थी र प्रहरी सहायक निरीक्षक हेमराज कार्की घाइते भएका छन् ।

उनको टाउकोमा गहिरो चोट लागेको छ भने प्रहरी सहायक निरीक्षक कार्कीको बाँया हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । घाइते प्रहरी हवल्दार पन्थीलाई सशस्त्र प्रहरी बलको गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको छ । उनको अवस्था बोल्न सक्ने रहेको जनाइएको छ ।
घटनापछि करबगार्डमा कार्यरत १० जना प्रहरीमध्ये ६ जना कार्यालयमा उपस्थित भएको र दुईजना फोन सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । घटनाका क्रममा कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा, सोलार प्यानल, अफिस कोठा तथा फर्निचरमा तोडफोड गरिएको छ भने हातहतियार र सञ्चार साधनमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा १३ जनाको टोली अपराह्न ४ बजेर १० मिनेटमा घटनास्थल पुगेको थियो । साथै जिल्ला प्रहरी कार्यालय दुनैबाट २१ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्मबाट १५ जनाको टोली थप सुरक्षा व्यवस्थाका लागि परिचालन गरिएको छ ।
यस घटनाको कारण त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ निवासी ४५ वर्षीय जुन रोकायसँग सम्बन्धित रहेको बुझिएको छ । प्रहरीले धेरो पोल्ने ठाउँ नजिक चेकजाँच गर्ने क्रममा रोकाय एक्कासी भागी बेपत्ता भएको विषयलाई लिएर स्थानीय आक्रोशित भई करबगार्ड कार्यालयमा प्रवेश गरेको प्रारम्भिक बुझाइ छ । उनलाई लागुऔषध बोकेर हिँडिरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गरिएको जनाइएको छ ।
बेपत्ता रहेका रोकायको विषयमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै उनका परिवार तथा स्थानीय नेताहरूले प्रशासनसँग माग गरेका छन् । आइतबार साँझ ९ बजेर ४५ मिनेटमा रोकायकी श्रीमती धनमती रोकाया, नेकपा (एमाले) डोल्पा जिल्ला अध्यक्ष लंकबहादुर रोकाया, प्रेस चौतारी डोल्पाका जिल्ला अध्यक्ष प्रेम थापासहित ७ जना पीडित पक्ष र प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको टोलीबीच छलफल सुरु भएको थियो । छलफल राति १० बजेर २५ मिनेटमा सोमबार बिहान ८ बजे पुनः बस्ने सहमतिसहित टुंगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।









