खजुरा, पुस २१ खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ८३ लाख १ हजार ८६ रुपैयाँ बराबरको कारोबार गर्दै ११ लाख ७८ हजार ७२९ रुपैयाँ खुद नाफा गरेको छ ।

संस्थाको ३१औँ वार्षिक साधारण सभामा उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष हरिप्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सभामा अधिकांश सहभागीले किसानहरूले गाई–भैंसी पालनलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाले सहकारीले किसानले उत्पादन गरेको दूध सहज रूपमा बजारमा पुर्याउन व्यवस्था गरेको र गुणस्तरीय, स्वच्छ दूध उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताए । साथै उनले सहकारीले दूधका विभिन्न परिकार उत्पादन गरी उपभोक्तासम्म पुर्याउने काम गर्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष केदार गिरीका अनुसार, सहकारीमार्फत कारोबार गर्ने किसानहरूलाई अनुदान र सहुलियतमा सहयोग पुर्याइँदै आएको छ । व्यवस्थापक गौरव सापकोटाले बताएअनुसार, सहकारीले किसानका पशुहरूको ५०% लागत साझेदारीमा बिमा, ५० प्रतिशत लागत साझेदारीमा घाँसको बीउ र पशु आहार वितरण गर्दै आएको छ ।
संस्थाले कुल ११ लाख ६१ हजार ३ सय ८७ रुपैयाँ कृषक र सेयर सदस्यहरूलाई वितरण गरेको छ, जसमा शेर लाभांश, संरक्षित पूँजी कोष, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रकम समेत समावेश छन् ।
२०५१ सालमा स्थापना भएको यस सहकारीमा हाल २४१ जना सेयर सदस्य छन् । वार्षिक साधारण सभामा तीन जना नियमित रूपमा गुणस्तरीय दूध सहकारीमा ल्याउने किसानहरूलाई प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।









