राप्तीसोनारी, पुस २४ राप्ती सोनारी गाउँपालिका–२, हरिहरपुरका दुजकुमार रावतको जीवन एकाएक बदलिएको छ । केही समयअघि प्रेसर (उच्च रक्तचाप) का कारण उनलाई पक्षघात भयो । त्यसयता उनलाई सामान्यरूपमा हिँड्डुल गर्न असामान्य भयो । घर बाहिर निस्कन, स्वास्थ्य परीक्षणका लागि अस्पताल जान वा सामाजिक कामकाजमा सहभागी हुनसमेत उनीलाई परिवारको भर पर्नु पर्ने अवस्था आयो । दैनिक जीवनको सानो कामका लागि पनि अरूको सहारा लिनुपर्दा दुजकुमारको मनमा निराशा र पीडा बढ्दै गयो ।

यही पीडालाई बुझ्दै राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीले दुजकुमारका लागि सहयोगको हात अघि बढाएका छन् । वडाध्यक्ष वलीले आफ्नै तलब, भत्ता तथा सेवासुविधाबाट एक थान ह्विलचेयर प्रदान गरेका हुन् । हरिहरपुरमा रहेको उनको घरमै पुगेर वडा अध्यक्ष वलीले ह्विलचेयर हस्तान्तरण गरेका थिए ।ह्विलचेयर पाउँदा दुजकुमारको अनुहारमा देखिएको खुसीले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । ‘अब म आफैं बाहिर निस्कन सक्छु, अरूलाई धेरै दुःख दिनु पर्दैन,’ उनले भने, ‘यो ह्विलचेयर मेरो लागि केवल साधन होइन, आत्मसम्मान र आत्मनिर्भरताको प्रतीक बनेको छ ।’ उनका परिवारजनले पनि राहत महसुस गरेका छन् । लामो समयदेखि दुजकुमारलाई बोकेर वा सम्हालेर हिँडडुल गराउँदै आएका परिवारका लागि अब केही सहजता आएको छ ।
वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीले जनतासँग गरेका बाचा व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरे । ‘चुनावका बेला जनतासँग गरेका वाचा केवल भाषणका लागि होइनन्,’ उनले भने, ‘मेरो तलब, भत्ता र सेवासुविधा जनताकै हो । त्यही सुविधाबाट अपांगता भएका, असहाय र विपन्न नागरिकलाई सहयोग गर्न पाउनु नै मेरो लागि ठूलो सन्तुष्टि हो ।’ उनले आगामी दिनमा पनि वडाभित्र रहेका यस्ता समस्याग्रस्त नागरिकको पहिचान गरी सहयोग गर्दै जाने बताए ।
स्थानीयवासीहरूले पनि वडाध्यक्षको कदमको खुलेर प्रशंसा गरेका छन् । सामाजिक उत्तरदायित्व बोकेको जनप्रतिनिधिले आफ्नै स्रोतबाट सहयोग गर्नु सकारात्मक उदाहरण भएको उनीहरूको भनाइ छ । ‘यसले अरू जनप्रतिनिधिलाई पनि प्रेरणा दिन्छ,’ एक स्थानीयले भने, ‘राजनीति केवल सत्ता र पदका लागि होइन, पीडामा परेका नागरिकको सेवाका लागि हो भन्ने सन्देश गएको छ ।’
राप्ती सोनारी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूका लागि राज्यका कार्यक्रम र सहयोग अझै पर्याप्त नभएको गुनासो रहँदै आएको छ । यस्तो अवस्थामा व्यक्तिगत पहलबाट भए पनि गरिएको सहयोगले ठूलो अर्थ राख्छ । दुजकुमार रावतका लागि प्रदान गरिएको ह्विलचेयर केवल एउटा साधन मात्र होइन, आशा, हौसला र मानवीय संवेदनाको प्रतीक बनेको छ । यसले स्थानीय तहमा जनप्रतिनिधि र जनताको सम्बन्धलाई अझ मजबुत बनाएको छ ।









