२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

कांग्रेस विवाद र शेखरको मौनता

पुरानो लोकतान्त्रिक दल कांग्रेसका नेताले दलीय सहमति अर्थात् महाधिवेशनकै फेरोमा नेतृत्व हस्तान्तरण गर्नु गज्जब हुन्छ

 

गत असोजको पहिलो सातायता नेपाली कांग्रेसका आन्तरिक जीवनमा दुईचार कुरा हटकेक बने । जसमा दुई कुरा थप प्रबल बने, पहिलो कांग्रेसको विशेष महाधिवेशन (जुन यही पुस २७ र २८ का लागि आह्वान भइसकेको छ) र दोस्रो कांग्रेस नेता डा. शेखर कोइरालाको मौन राजनीतिक सक्रियता । एकातर्फ महाधिवेशन हुने कि नहुने, अर्कातर्फ विशेष हुने कि नियमित हुने भन्ने आशंकाले मामिला थप पेचिलो बन्न पुग्यो । महाधिवेशन हुने या नहुने संशयमा कांग्रेसी वृत्तमा आलोचनात्मक विश्लेषणसहित व्याख्या हुनु त्यति अस्वाभाविक भएन, जति चर्चा शेखरको शक्ति सञ्चयबारे दोबाटा, चोक, गल्ली तथा भिडमा हुन थाल्यो ।

कांग्रेसको एक बलियो वृत्तले शेखरलाई ‘पोलिटिकल स्टक’मा विश्वास गर्ने पात्र ठान्छ । वाचाल नेता गगन थापाको बेगलाई ‘डिस्मेन्टल’ (फिका) गर्न सक्ने पात्रका रूपमा शेखरलाई उभ्याउन सकिने धेरै ठोस आधार हुन सक्छन्‌ । यसैकारण एउटा ठुलै समूह सर्मथनमा उभिएको हुन सक्छ  । भनिन्छ, कार्यकर्तामा आधारितभन्दा सामूहिकतामा आधारित निर्णय पार्टी निर्माणमा व्यावहारिक हुन्छ । यही निर्णयले कांग्रेसको आगामी आधारशिला निर्माण गर्ने लगभग पक्का छ ।

दलीय हिसाबमा चुनावबाटै जनाधिकार तथा जनताका म्यान्डेट तय गर्न नसक्ने दल केवल नेता र खेमा विशेषमा रुमल्लिनु स्वाभाविक हो । आन्तरिक विवादलाई सहज निकास दिन नसक्नु भनेको ‘घरको न घाटको’ अवस्थामा पुग्नु हो । यसलाई कांग्रेस वृत्तले स्पष्ट बुझेको छ  । यसबाट कांग्रेसमा भनिएको प्रजातान्त्रिक पद्धति सबल बन्नुभन्दा पनि फिका बन्ने संकेत देखिन्छ । के यो ‘डिजिटलाइज्ड’ कांग्रेसको मर्मअनुसार छ त ? कांग्रेसभन्दा पछाडि स्वतन्त्रताको अभ्यास गरेका एमाले, तत्कालीन माओवादी, रास्वपा तथा राप्रपासमेतले एजेन्डाका हिसाबले लोकतान्त्रिक पद्धति अपनाइसकेको वर्तमानमा कांग्रेसले यस्ता ‘म्याटर’मा अल्झिनुभन्दा दलीय सहमति अर्थात् महाधिवेशनकै फेरोमा नेतृत्व हस्तान्तरण गर्नु गज्जब हुन्छ । यसैको जगमा के शेखर बन्न सक्लान् त ‘डिफ्याक्टो लिडर’ ?

कांग्रेसको ‘क्याटवाक’ : व्यक्तिगत ‘क्याटवाक’ सहज होला, तर दिगो नहुन सक्छ । दिगोपनासहितको क्याटवाकले खास महत्व राख्छ । हो, वर्तमानमा कांग्रेसकेन्द्रित किशोर तथा युवाले दिगो मेलोमा ध्यान दिनु जरुरी छ । दिगो मेलोद्वारा सिर्जित लिडरसिपको उचित निकासबाट सर्वप्रथमतः मुलुकको ‘प्याराडाइम सिफ्ट’ (प्रतिमान परिवर्तन) हुन्छ । वर्गीय हिसाबमा युवाले यता व्यक्तिगत रूपमा एक दिशागत शक्तिकेन्द्रित मेलो खोजेको आभास हुन्छ, त्यो पनि वर्तमान संक्रमणकालमा । तर, मुलुकले खोजेको ‘मल्टिडिरेक्सनल’ (बहुदिशागत) मेलो हो, जुन वर्तमान समयको मागसमेत हो । यसो भन्दै गर्दा नियमित महाधिवेशन हुन नसकेको अवस्थामा घोषणा नै भइसकेको विशेष महाधिवेशन सफल पार्नुको विकल्प छैन । ‘क्याटवाक’लाई भने राजनीतिमा फेसन कम, व्यावहारिकता बढी भएको आयामका रूपमा हेरिन्छ ।

पोलिटिकल क्याटवाक वाक्यांशमा जति सहज छ, व्यवहारमा त्यति सहज नरहेका उदाहरणमा ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सनारो, इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्ल्सुकोनी, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तथा क्यानडाका युवा नेता तथा पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको विश्वव्यापी लयले अंकित गरिसकेको छ । यसैबाट पनि राजनीतिक वृत्तिको ऐतिहासिक फेहरिस्त लगभग स्पष्ट हुन्छ । तसर्थ मेलो लाग्नेभन्दा मेलो लगाउनेको ओज वृद्धि भएको पाइन्छ । एकपटक यसतर्फ पनि जोड दिनु युवावर्गको आवश्यकतासमेत हो ।

इतिहासको विकास हेतु निर्माण भएका नेपाली राजनीतिक भाष्य त्यहाँ झर्‍यापझुरुप हुन्छन्, जहाँ दण्डहीनता र अधैर्यको विकास हुन्छ । हो, यही दौडमा देखिए कांग्रेसलगायत दल । लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने नेपाली दल यसका सिकार हुने भए भन्नेमा भय निर्माण भइसकेको छ, यसका निम्ति धेरै पर पुग्नुपर्दैन, वर्तमानमा खस्किएको कांग्रेसको क्रियाशील सदस्यता र एमालेका संगठित सदस्यको संख्या हेर्दा लगभग स्पष्ट हुन्छ । तर, कालान्तरमा यसको निरंकुश सामाजिक न्याय शिक्षित नेपाली जनमानसले गर्नेछ, जसलाई दधिची, दुर्वासा, चाणक्य, मार्क्स हुँदै हिटलरसम्मका समाज विज्ञान घोकाइयो, तर कांग्रेसजनलाई बिपी सिकाउन पाइलापाइलामा चुक्यो कांग्रेस । तर, घोकाइतन्त्रमा लत बसेका मानव संशाधनको उपयोग गर्नु र बोकेको कुकुरले सिकार गर्नु उस्तैउस्तै हो । यसैबाट सुरु हुन्छ, कांग्रेसको सैद्धान्तिक क्षयीकरण, जसमा जोसिला युवा बेतालमा क्याटवाक गर्न निस्कन्छन्‌ ।

यतिखेर पनि सम्भाव्यतामा बाँच्नु कांग्रेसका लागि दुर्भाग्य हो । दुर्भाग्यको आधारविन्दु भन्नाले व्यक्तिगत राजनीतिक स्वार्थ तथा लाभसमेत हो । वर्तमानमा जेन–जी विद्रोहले छेडेको परिवर्तनलाई पुरातनवादी भनिएका नेता शेरबहादुर देउवाले समेत स्वीकार गरी आफूले ‘फ्रुटफुल एक्जिट’ चाहेको बताइरहँदा पनि कांग्रेस अनिर्णयको बन्दी बन्नु भनेको दल थप कमजोर, रुढिवाद र संकुचनमा जानु हो । इतर मानिएका नेता शेखर कोइरालाको मौनता वर्तमानमा सार्थकसमेत देखिन्छ । सार्थक यस मानेमा कि उनी केवल केन्द्रीय सदस्यमा सीमित पात्र हुन्, जसको काम, कर्तव्य र अधिकारको दायरा पनि सीमित नै छ । यसर्थ, क्याटवाकलाई दिगो, सन्तुलित एवं सन्तुलित बनाउन कांग्रेसका वैकल्पिक दुई शक्ति एकजुट भएर अघि बढ्दा हेगेलले भनेझैँ ‘राजनीति र इतिहासमा समान तथा विपरीत शक्ति संयोजनले न्याय पाउनेछ ।’

राजनीतिका सापेक्षिक मोडलाई वर्तमानमा नजरअन्दाज गर्दै रणनीतिक कार्यदिशा तथा बिपीको मार्गदर्शनलाई यथारूप दिन सक्नु कालान्तरमा शेखर–गगनले ‘विन–विन पोलिसी’ (जितमाथि जित नीति) मा रहेर जोखिमरहित र मर्यादित राजनीतिक संस्कृतिको विकास गर्नु हो । जसको गुन कांग्रेस वृत्तले कहिल्यै बिर्सनेछैन । तर, ‘जिरो सम गेम’ (शून्य प्राप्ति खेल) को अवस्था सिर्जना हुनु भनेको पोलिटिकल क्याटवाक निरर्थक बन्नु हो । मौनताको पथ : सन् १९६३ को अगस्टमा अमेरिकी अभियन्ता तथा नेता मार्टिन लुथर किङको सुप्रसिद्ध भाषण आई ह्याभ अ ड्रिम (मेरो एक सपना छ) ले तहल्का पिट्यो । भनिन्छ, यसैकै प्रतिबिम्बस्वरूप अमेरिकामा सन् १९६४ मा नागरिक अधिकार तथा सन् १९६५ मा मताधिकारसम्बन्धी कानुन निर्माण गरियो । जसका आधारभूत मागमा स्वतन्त्रता, समाजिक न्याय तथा समानता थिए । नेपालका सन्दर्भमा यी दुवै प्रकारका अधिकार सन् १९४८ र १९५५ मै प्राप्त भई उपयोगसमेत भइसकेका थिए । हो, यही अमेरिकी प्रवृत्ति, जसमा लुथर किङ सापेक्षिक रूपमा बलियो भएका थिए, यही ‘पोलिटिकल कल्चर’को ब्याज आजसम्म अमेरिकाले खाइरहेको छ । त्यस्तो प्रवृत्तिको विकास कांग्रेसले गर्न सक्यो भने हजारौँ वर्षसम्म उसले सोचेको प्रजातान्त्रिक ब्याज उपभोग गर्न अप्ठ्यारो हुनेछैन ।

मौनता, विश्व राजनीतिलगायत विचार विज्ञानको निर्णायक पथ हो भन्नेमा दुईमत छैन । मौनताका विभिन्न स्वरूपमध्ये राजनीतिक मौनता त्यो स्वरूप हो, जसले नेतृत्वको तहमा कायाकल्पसमेत ल्याइदिन सक्छ । उदाहरणका रूपमा सिंगापुरका नेता ली क्वान यू तथा वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लिन सकिन्छ । सन् २०२२ मा रुटलेजले प्रकाशन गरेको सोफिया डिङ्ली तथा थोमस कुकले सम्पादन गरेको पुस्तक ‘राजनीतिक मौनता : अर्थ, कार्य र अस्पष्टता’ले थोरबहुत रूपमा यसका सफलता र यससँग जोडिएका चुनौतीबारे बताएको छ । यसमा सांकेतिक, रणनीतिक तथा घर्षणसहितको शक्ति सन्तुलन, जसमा शक्ति, संस्था तथा राजनीतिक संग्लग्नताबारे उल्लेख भएको छ ।
वर्तमानमा शेखरको मौनताले राजनीतिक संयमता, तत्कालमा देखिएको द्वन्द्वको व्यवस्थापन, धारणा तथा अभिव्यक्तिका लागि ‘प्लेटफर्म’ निर्माण भएको देखिन्छ, जुन

प्रजातान्त्रिक भनिएको पार्टीको विशेषतासमेत हो । तर, यसै मौनताले निम्त्याएका चुनौतीको चाङ पनि सानो छैन । यसका अवयवका रूपमा तत्कालमा आह्वान भएको विशेष महाधिवेशनको बहस र नवआयामलाई लिन सकिन्छ । यसबाट उम्कन शेखरले वर्तमानमा रही विगतको सुनौलो इतिहासलाई मनन गरेर भविष्यको कार्यदिशासमेत कोर्नुपर्ने चुनौतीका ठेली छन्‌ । दोस्रो हिसाबमा उनलाई ‘लिगेसी वेस्ड पोलिटिकल क्याडर’को ‘ट्याग’समेत लाग्ने गरेको छ । उनी सफलतामा ‘लिडर’ बन्नका लागि संकटमा संकुचन र सहजतामा प्रस्फुटनकारी बन्नु आवश्यक छैन । हो, यसैबाट सुरु हुन्छ, उनको ‘डिग्निटी बेस्ड पोलिटिक्स’ (मार्यादामा आधारित राजनीति) को आधारशिला । अर्कातर्फ यस मौनताले निम्त्याएका अपत्यारिता तथ्यलाई उनले सीधा हिसाबमा स्वीकार गरि तदनुसार कार्यदिशा तय गर्नु आवश्यक छ । सो नभएको खण्डमा संस्थापन पक्षकै दोस्रो वरीयताका प्रथम नेता वा पूर्णबहादुर खड्काको प्रबलतामाथि सबैको सहमतीय बिन्दु बन्न सक्ने आधार देखिन्छ ।

समीकरण अ–समीकरण : वर्तमानमा शेखर–गगन दुवैलाई ‘फरक कोणले किन हेर्नुपर्छ र हेर्न सक्नुपर्छ’ भन्ने प्रश्नलाई कांग्रेस वृत्तले खास हिसाबले मनन गरेको पाइन्छ । तर, दुवैलाई गराइका हिसाबले समानान्तर अंक दिन सक्ने ठोस आधार नै पाइएको छैन । यसो भन्दैमा दुवै नेतालाई नजरअन्दाज भने गर्न लागिएको होइन, त्याग र बलिदानका हिसाबले । भय यति मात्र हो कि कांग्रेस प्रजा (तान्त्रिक) हरूकै भरमा चल्ने भयो ।

शेखर–गगनबिच बढ्दो असन्तुलनले विद्यमान पार्टी प्रणालीको ‘बेन्चमार्क’ नै नाघ्ने अवस्था निम्तिएको विश्लेषकको भनाइ छ । जसबाट बिस्तारै निर्माण एवं संस्थागत हुँदै गरेको डेमोक्रेटिक स्ट्रेन्थ (लोकतान्त्रिक सबलता) बिस्तारै क्षयीकरणको विन्दुमा पुग्ने आशंकासमेत गर्न थालिएको छ । वर्तमानमा समेत संस्थापन र गगन पक्ष दुवैले एक–एक कदम पछाडि हट्न सकेको अवस्थामा लगभग समस्या समाधान निश्चित छ । कुरो रह्यो, २१ फागुनमा हुने चुनावका सन्दर्भ । तोकिएको चुनाव घोषित मितिमै भए पनि या ६ महिनापछि भए पनि अथवा एकै वर्षपछि भए पनि चुनाव त भएरै छाड्छ । तर, चुनाव तथा टिकट बाँडफाँडलाई लिएर एउटा संस्थालाई नै अनिर्णयको बन्दी बनाउनु किञ्चित लोकतान्त्रिक पद्धतिको अभ्यास होइन ।

सजातीय नेताबिचको असन्तुलन तब पैदा हुन्छ, जब अहंकार, शक्ति संघर्ष तथा आपसी विश्वासमा खाडल पैदा हुन्छ । यसबाट डरलाग्दो भय कहाँ निम्तिन्छ कि अनुयायी अनुयायीबिच समेत चरम धु्रवीयता बढ्छ, जसमा मध्यस्थकर्तासमेतले सहजीकारण गर्न सक्दैनन्‌ । चुनावकै मेसोमा यतिको शक्ति संघर्षको अभ्यास भएको हो भने चुनावमा हार स्वीकार गरी कांग्रेस पाँच वर्ष जनतामाझ भिज्न सक्नु बरु उचित हुन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।