२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण नेपालगन्जमा पश्चिम नेपालका निर्वाचन अधिकृतहरू

नेपालगन्ज, पुस २९  मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरूका लागि लक्षित निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सोमबारदेखि सुरु भएको छ । दुईदिने कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ । निर्वाचन आयोगद्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका निर्वाचनसम्बन्धी अधिकारीहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले गरेकी हुन् । उद्घाटन समारोहमा बोल्दै आयुक्त डा. तुलाधरले लोकतन्त्रको मूल आधार नै निर्वाचन भएको उल्लेख गर्दै यसलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन निर्वाचन आयोग पूर्णरूपमा प्रतिबद्ध रहेको बताइन् । उनले निर्वाचन प्रक्रियामा देखिने चुनौतीहरूलाई सबै पक्षको सहकार्यबाट समाधान गर्न सकिने भन्दै निर्वाचन अधिकारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राखिन् ।

आयुक्त डा. तुलाधरले निर्वाचनका क्रममा फैलिन सक्ने मिथ्या सूचना र भ्रम लोकतन्त्रका लागि ठूलो चुनौती भएको उल्लेख गरिन् । यस्ता गलत सूचना र अफवाहबाट जोगिँदै निर्वाचनलाई सभ्य, शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो । उनले निर्वाचन अधिकारीहरूले कानुन, आचारसंहिता र निर्वाचन व्यवस्थापनका मापदण्डहरूलाई कडाइका साथ पालना गर्दै निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरिन् ।

उद्घाटन कार्यक्रममा नेपाल सरकारका सचिव पाराश्वर ढुंगानाले विशेष तथा विशिष्ट परिस्थितिमा भइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न यस्ता अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी हुने बताए । निर्वाचन व्यवस्थापनमा देखिने जटिलता, सुरक्षा चुनौती, मतदाता विश्वास र प्रशासनिक समन्वयका विषयमा स्पष्ट बुझाइ आवश्यक रहेको भन्दै उनले तालिममार्फत अधिकारीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको स्पष्ट पारे ।

सचिव ढुंगानाले निर्वाचनको विश्वसनीयता कायम राख्न प्रशासन, सुरक्षा निकाय र निर्वाचन आयोगबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गरे । उनले निर्वाचन प्रक्रियामा कुनै पनि कमजोरीले जनताको विश्वासमा असर पार्न सक्ने भएकाले सबै अधिकारीहरू उच्च सतर्कताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगका शाखा अधिकृत तुलसीराम भगतका अनुसार उक्त अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरूको सहभागिता रहेको छ । कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने अधिकारीहरूलाई लक्षित गरी निर्वाचन सञ्चालन,

व्यवस्थापन, कानुनी प्रावधान, मतगणना, उजुरी व्यवस्थापन, आचारसंहिता कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिइँदैछ ।
दुईदिने अभिमुखीकरण कार्यक्रममा सैद्धान्तिक प्रस्तुतीकरणसँगै अनुभव आदान–प्रदान, छलफल र व्यवहारिक पक्षमा केन्द्रित सत्रहरू समावेश गरिएको छ । यसले निर्वाचन अधिकृतहरूलाई आफ्नो जिम्मेवारीबारे स्पष्टता दिलाउँदै निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।