२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

संकटमा मौरी : घारमा बसे शीतलहरले मर्छन्, बाहिर चराको चारो

नेपालगन्ज, पुस ३०  मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।नेपाल मौरीपालक महासंघ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिए । उनले भने, ‘अहिले मौरीका लागि संकटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।’

मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गरे । एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी रहेका हुन्छन् । मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै उनले बाँकेमा उन्नत जातको मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको बताए । यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो ।

अध्यक्ष बस्नेतका अनुसार चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ । यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ । रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै उहाँले यिनीहरूको वासस्थान सुरक्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले आफूले पालेका ५० घार मौरीलाई चरिचरनका लागि बर्दियाको गुलरिया उत्तरपूर्व लक्षुमणामा लगेको जानकारी दिँदै त्यहाँ पनि फुलेको तोरी सकिएकाले अन्यत्र सार्ने तयारी भइरहेको बताए ।कात्तिकमा बर्दियाको तारातालमा मौरी चरिचरनका लागि लगेको उल्लेख गर्दै मौरीपालक बस्नेतले अब केही दिनमा नै चरिचरनका लागि बर्दियाको बासगढी नगरपालिकामा लैजाने तयारी भइरहेको बताए ।

कोहलपुर नगरपालिका–५ निवासी कृष्ण आर्चायले मौरी चिसोले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएको बताए । ‘एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ’, उनले भने । चिसोको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको उल्लेख गर्दै उहाँले मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने बताउनुभयो । रानीमौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ मौरीपालक किसान आचार्यको भनाइ छ ।

उनले भने, ‘अत्यधिक चिसोका कारण आधा जति मौरी मरिसका छन् ।’ आर्चायले करिब ७० घार मौरी पालेका छन् । यहाँ १२ जना मौरीपालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आएका छन् । गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासङ्घका अध्यक्ष बस्नेतको भनाइ छ । कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले गत वर्ष सङ्घीय सरकारको कार्यक्रमअनुसार मौरीपालक किसानलाई अनुदान सहयोग गरे पनि यस वर्ष कुनै कार्यक्रम नभएको जानकारी दिए । जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गरेका छन् ।

मौरीपालक किसान बस्नेतले गत वर्ष कोहलपुर नगरपालिकाबाट पाँच लाखको अनुदान प्राप्त गरेकोे र सो रकम पाँच जना किसानले दामासाहीले बाँडेर लिएको बताए । जिल्लाबाट अधिकांश मौरीपालक किसान मौरीको चरिचरनका लागि दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा जाने गर्छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।